नक्कली नोटसहित महोत्तरीबाट दुई भारतीय नागरिक पक्राउ

सांकेतिक तस्बिर

महोत्तरी – औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नम्बर १३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

शुक्रबार राति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट १००० हजार दरका २२ थान, ५०० दरका तीन थान, १०० दरका २७ थान, ५० दरका का ६ थान, २० दरका आठ थान, १० दरका ११ थान, ५ दरका ६ थान र भारु १०० दरका तीन थान नोट बरामद गरेको थियो ।

पक्राउ परेका दुवैजनालाई अनुसन्धानका लागि शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्