अकर्मण्य नेताहरू, निराश कार्यकर्ता

राजनीतिक दलहरूका नेताहरूको अलोकतान्त्रिक हर्कत र चरम व्यक्तिवादी चरित्रबाट आम जनता आजित भएको कुनै नयाँ कुरा होइन। नेपाल संसारका लोकतन्त्रहरूमध्ये एउटा यस्तो देश हो जहाँ नेताको नाम लिनेबित्तिकै आमजनताको मनमा सबैभन्दा पहिले आउने शब्दहरू हुन्ः भ्रष्ट, फटाहा, दलाल…..। तर पनि जनताले लोकतन्त्रलाई चलायमान बनाउनैका लागि चुनावलाई सफल बनाइदिन्छन् केही हुनेवाला छैन भन्ने जान्दाजान्दै। कुनै पनि दलमा आवद्ध नभएका स्वतन्त्र जनताबाहेक दलहरूमा आवद्ध भएका कार्यकर्ताहरूको आफ्ना नेताहरूबारे खास धारणा कस्तो छ त? धेरैलाई यसबारेमा भ्रम रहेको पाइन्छ। पार्टीलाई माया गर्दैमा नेताहरूलाई मनैबाट स्वीकार गरिएको हुन्छ भन्ने पक्कै हुँदैन। यस आलेखमा पार्टी संगठनमा आवद्ध रहेर दिन–रात पार्टीको काममा खटेका कार्यकर्ताहरूको आफ्ना नेताहरूप्रतिको खास धारणालाई चर्चा गर्न खोजिएको छ।

ठूला पार्टी हुन् वा साना पार्टी सांगठनिक रूपमा तल्लो तहसम्म स्थानीय कार्यकर्ताहरूले कडा मेहनत गरिरहेका हुन्छन्। देशको राजनीतिक यथार्थ र सामाजिक अवस्थितिअनुसार जनतासँग हरपल सात्क्षात्कार गर्ने र आफूले सक्नेसम्मको सहयोग ती कार्यकर्ताहरूले पुर्‍याएका हुन्छन्। यसमा स्वाभाविकैले ठूला भनिएका नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूको खटनपटन बढ्ता हुने गर्छ। अनैकौं असफलताका वावजुद पनि शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, रामचन्द्र पौडेललगायतलाई अझै पनि उत्तिकै राजनीतिक तौलमा उचो बनाइराख्ने अरू कोही नभई तिनै कार्यकर्ताहरूको कठिन मेहनत र खटन हो। कार्यकर्ताहरूले नै सारा कार्यक्रमहरूको व्यवस्था मिलाई नेताहरूको देश दौडाहालाई सफल बनाउँछन्। आफ्ना अनेकौं पारिवारिक कामहरू छोडेर उनीहरू संगठन निर्माणमा लागि पर्दछन्। गाउँमा स्थानीय नेता–कार्यकर्ताहरूलाई आम जनताले नजिकका पात्रहरू अनुभूत गर्दछन्। अझै भनौं त ती स्थानीय नेता–कार्यकर्ताहरूको त घरबारै नभएका फुर्सदिला मान्छेहरू जसरी कतिपय अवस्थामा जनताले काम लगाएका हुन्छन्। तर पनि कार्यकर्ताहरू आम जनताको काम भनेपछि संगठन बलियो हुन्छ भनेर खटिरहन्छन्। एउटा विडम्बना चाहिँ यसरी जनतासँग नजिक रहेर संगठनलाई बलियो बनाइरहन खटिने कार्यकर्ताहरू पछिल्लो केही वर्षयता आफ्ना पार्टीका मुख्यगरी केन्द्रीय नेताहरूप्रति निकै नै आक्रोशितमात्र होइन, आफूहरूको मेहनतलाई चरम दुरूपयोग गरेको र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाएको भन्दै निराश हुन थालेका छन्।

यस पंक्तिकारले विभिन्न दलहरूमा आवद्ध सयौं कार्यकर्ताहरूसँगको अनौपचारिक कुराकानीमा पाएको एउटै साझा तथ्य के हो भने कार्यकर्ताहरू नेताको आशले भन्दा पनि पार्टीप्रतिको आस्थाले मात्र संगठनमा टिकिरहेका छन्। नेताहरूले देश बर्बाद गरे भन्ने आम जनताको आक्रोशको जवाफ उनीहरूसँग छैन। त्यसकारण पनि जति सकिन्छ जनताको काम ग¥यो, ठूला कुरा गरेर देशलाई स्वर्ग बनाउँछौं भन्ने सपना कार्यकर्ताले बाँड्न छोडिसके। रमाइलो कुरा त के छ भने पहिले मेरो पार्टी र तेरो पार्टी भनेर भिड्ने विभिन्न दल सम्बद्ध कार्यकर्ताहरूमा आजकल सौर्हादपूर्ण मिल्ती देखिन्छ। अब उनीहरू मेरो नेता र तेरो नेताबाट हुनेवाला केही छैन, जनताको आक्रोशको जवाफ हामी दुवैसँग छैन भन्नेमै सहमत भएको बुझन सकिन्छ। आजकल स्थानीय नेता–कार्यकर्ताहरूबीच पार्टी कामबाहेक अन्य अवस्थामा भेट हुँदा राजनीतिक कुरा हुन छोडिसकेको छ, समाजका अन्य विषयवस्तुमा केन्द्रित हुने गरेका छन्। पहिले जस्तो कतै चियापसल–चौतारी वा कुनै जमघटमा भेट हुँदा चर्का राजनीतिक गफ अब हुन छोडिसक्यो। कुनै जनताले दलका कार्यकर्तालाई राजनीति कता जाँदैछ मित्र? भनेर प्रश्न गर्‍यो भने कार्यकर्ताहरू कुरा मोडेर अर्कै विषयमा पुर्‍याउँछन्। राजनीतिबारे कुरा गर्ने र खटिरहने कार्यकर्ताहरूमा समेत जाँगर हराइसक्यो। अहिले वक्ताको भाषणै नसुनी समय कटाउने कुनै त्यस्तो कार्यक्रम छ भने त्यो राजनीतिक कार्यक्रम भएको छ। सहभागीहरू या त मोबाइलमा या त एकापस कुराकानी गरेर समय कटाइरहेका हुन्छन्।

पछिल्लो दशकबाट विश्व लोकतन्त्रले कठिन चुनौतीहरूको सामना गर्नुपरिहेको छ। विडम्बना त के छ भने विश्वका औंलामा गन्न सकिने लोकतन्त्रहरूले बाहेक बाँकीको प्रदर्शन निकै निराशाजनक देखिएको छ। कोभिड–१९ को महामारीले धेरै लोकतन्त्रहरूको वास्तविक अनुहार देखाएको राजनीतिशास्त्रीहरू बताउन थालेका छन्। राजनीतिक वैज्ञानिक ल्यारी डायमन्ड कठिन अवस्थाको सामना गरिरहेको लोकतन्त्रले व्यापक आन्तरिक सुधार गर्दै निर्वाचन प्रणालीमा सुधार, लोकतान्त्रिक संस्थाहरूलाई क्षमतावान बनाउने र जनप्रवाहलाई वास्तविक रूपमा जनताले अनुभूत गर्ने किसिमको बनाउनैपर्ने टिप्पणी गर्दछन्। लोकतन्त्र सबैभन्दा उत्तम राजनीतिक पद्धति हुँदाहुँदै पनि यो पहिलो त सहजै प्राप्त गर्न सकिँदैन, स्वस्थ बनाइराख्न निकै मेहनत गरिराख्नुपर्छ र हरपल आई पर्ने खतराहरूलाई व्यवहारद्वारा नै सम्बोधन गर्न सक्नुपर्छ भन्नेमा राजनीतिशास्त्रीहरूको मतैक्यता देखिन्छ। नेपाली लोकतन्त्रको कुरा गर्दा मुख्य गरी २०४६ यताको अत्यन्त महत्वपूर्ण अवसरलाई दलहरूले चरम दुरूपयोग गरे। राजनीतिशास्त्रका जर्मन प्राध्यापक एवं डेमोक्रेसी रूल्स पुस्तकका लेखक जान वेर्नर मुलरका शब्दमा इतिहासका गल्तीहरूबाट केवल असल मानिसले मात्र सिक्छ। यसै विचारलाई आधार मानेर हेर्दा पनि नेपाली नेताहरूले चरम असफलता र भयानक राजनीतिक दुर्घटनाहरूबाट समेत कत्ति पनि पाठ सिक्न खोजेको जनताले अनुभूत गर्न सकेका छैनन्। एउटा भयानक गल्तीलाई ढाकछोप गर्न अर्को गल्ती दोहोर्‍याउने प्रवृत्ति नेताहरूमा देखिन्छ। त्यसैले पनि आफ्ना नेताहरूलाई आमजनताले भन्दा नजिकबाट चिनेका कार्यकर्ताहरूमा आफ्नो मेहनतले सार्थकता पाउला भनेर विश्वास हुन नसकेको। सैद्धान्तिक एवं वैचारिक दृष्टिकोणबाट हेर्दा राजनीतिक दलहरू चलायमान, इमानदार, सिद्धान्तनिष्ठ र दृष्टिकोणमा स्पष्ट देखिनुपर्ने हो तर जब केन्द्रीय नेताहरूको व्यवहारको कुरा आउँछ पार्टीहरू निकम्मा, भ्रष्ट, विचौलिया पोस्ने, विदेशी शक्तिका खेलौना र राष्ट्रिय स्वार्थबाट पुरै स्खलित अनुभूति आम जनता एवं पार्टी कार्यकर्तासमेत गर्दछन्।

कांग्रेसी कार्यकर्ताहरूमा पार्टीका शीर्ष नेताहरूबाट केही पार लाग्दैन भन्ने पहिलेबाटै थियो, कांग्रेस लामो समय सत्तामा रहेको कारण पनि। तर पनि जनतासमक्ष उनीहरू यस्तो कुरा कहिल्यै गर्दैनन्। अहिले कांग्रेसी कार्यकर्ताहरूमा शीर्ष नेताहरूले पार्टीको खास सिद्धान्त, मूल्य–मान्यता र कांग्रेसीपन पुरै बिर्सिएको भन्ने गुनासो ज्यादा छ। जस्तो एजेन्डाका रूपमा संघीयता, धर्म निरपेक्षता र लोकतान्त्रिक समाजवादको मोडलबारे शीर्ष नेताहरूले कार्यकर्ताहरूको आवाज मुखरित गर्न नसकेको भन्ने छ। अन्य गुनासाहरू त कति हो कति। तुलनात्मक रूपमा बढ्ता निराश कार्यकर्ता कम्युनिष्ट पार्टीहरूका छन्। त्यसमा पनि नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरू जनतासमक्ष मुख देखाउनै नसकिने अवस्थामा पुगियो भन्दैछन्। माओवादी केन्द्रका कार्यकर्ताहरूमा नेतृत्व अस्थिर, अवसरवादी र पलायनवादी भयो भन्ने गुनासो बढ्ता छ भने एमाले कार्यकर्ताहरूमा नेतृत्व चरम व्यक्ति केन्द्रित, नैतिक धरातल हराएको, जनतासँग दूरी बढाएको, चरम भ्रष्टाचारमा लिप्त भएकोलगायतका गुनासो देखिन्छ। कांग्रेस, एमाले र माओवादी केन्द्रका आम कार्यकर्ताहरूमा एउटा पेचिलो साझा गुनासो के छ भने आफ्ना नेताहरू आर्थिक अनुशासनमा अत्यन्त कमजोर, भ्रष्ट, पैसाका लागि जे पनि गर्न तयार हुने र बिचौलिया एवं ठालूहरूको हितमा मात्र काम गर्ने गरेको भन्ने छ। आम जनताले यो गुनासोलाई दलका कार्यकर्ताहरूसमक्ष तिम्रा नेताहरू त यस्ता छन् भन्दै झाकों झार्ने हुनाले पनि कार्यकर्ताहरूलाई यो मुद्दाले अलि बढी पोल्ने गर्दछ र उनीहरू आजभोलि आफ्ना नेताहरूको बचाउमा खुलेर कुरा गर्ने गर्दैनन्। यो सबै स्थिति भनेको लोकतन्त्रका खम्बा मानिएका राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र वा कम्युनिष्टहरूले भन्ने गरेको जनवाद भयानक रोगबाट आक्रान्त छ र ठूलो अपरेसनविना लोकतान्त्रिक स्वास्थ्य सुदृढ हुन सक्दैन भन्ने हो।

लोकतन्त्रलाई जनताका सेवामा प्रवर्द्धन गर्न सकिएन भने यसले समाजलाई थप अस्थिर र असुरक्षित बनाउँछ भन्ने तथ्य पुष्टि भइसकेको छ। स्थापित लोकतन्त्रले मनपरीतन्त्र, अनुदार र अनुत्तरदायीकोे रूप लिन थालेपछि इजिप्ट, थाइल्यान्ड, म्यानमार, ट्युनिसिया जस्ता मुलुकहरूमा अधिनायकवादले सत्ता हासिल गरेको धेरै भएको छैन। राजनीतिशास्त्रीहरू भन्छन्– लोकतन्त्र केवल चुनावी प्रक्रिया पुरा गर्ने र सरकार गठन गर्ने पद्धतिमात्र होइन। उनीहरूका विचारमा लोकतन्त्रको आयतन र आयाम निकै गहन र व्यापक छ। राजनीतिकर्मीहरूले समाजको आवश्यकता र मनोविज्ञान मिहिन रूपमा बुझेर र्निणय लिन सक्नुपर्छ। यसो हुन नसक्दा नै नेपालको लोकतन्त्रबाट जनताले अपेक्षा गर्न छोडेको र समाजले राजनीतिक नेतृत्वबाट निकै टाढा भएको अनुभूति गर्न थालेको छन्। राजनीतिक वैज्ञानिक फ्रान्सिस फुकुयामाका शब्दमा लोकतान्त्रिक सरकारप्रति जनताको विश्वास कम हुँदै जानुले सर्वत्र चिन्ता बढाएको छ। नेपालमा दलहरूका कार्यकर्ताहरूसमेत निराश हुनुपरेको अवस्थामाझ आमजनताको सरकार, दलहरू र नेताहरूप्रतिको धारणा कति नकारात्मक होला सहजै अनुमान गर्न सकिन्छ। जनताको चौतर्फी आलोचना र अविश्वास हामीप्रति छ भन्ने नेताहरूले नबुझेका होइनन् तर पनि व्यक्तिगत स्वार्थ, लालच र विनामेहनत आइलाग्ने अनेक फाइदाका कारण उनीहरू परिर्वतन हुने जोखिम मोल्न खोज्दैनन्।

मुलुकका महत्वपूर्ण मुद्दाहरूमा दलीय नेतृत्वले समाज र आमजनताको भावनाभन्दा विदेशीका स्वार्थ र चाहनामा बढी केन्द्रित भयो भन्ने अहिले नेपालमा सर्वत्र गुनासो देखिन्छ। अहिले सर्वत्र संघीयताप्रतिको आक्रोश यति बिघ्न देखिँदैछ कि जनता यो हाम्रो लागि होइन केही नेताहरू र विदेशी शक्तिहरूको लागि रहेछ भनिरहेका छन्। अचम्म त के भने प्रदेश राजधानीमा रहेका धेरै जनतालाई त मुख्यमन्त्रीको नाम थाहा नहुनु नै सामान्य कुरा भइसकेको छ। प्रदेश राजधानीका जनताले समेत प्रदेशको अनुभूति गर्न नसक्नुले संघीयता कति घाडो भइसकेको छ र यसप्रति जनसमर्थन पटक्कै छैन भन्ने एक तथ्य पनि हो। एक दलका स्थानीय कार्यकर्ता भन्दै थिए– ‘यो संघीयता ल्याएर खास के गर्न खोजेको ठोस उत्तर देऊ भन्दा जनतालाई बुझाउन सक्ने उत्तर हामीसँग छैन। संघीयताप्रतिको जनआक्रोशलाई अब साम्य पार्न सक्ने क्षमता हामी दलका कार्यकर्ताहरूको छैन। नेताहरूले यो वास्तविकता बुझ्दैनन्।’

देशको ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसका कार्यकर्ताहरूमा अझै पनि पेचिलो चिन्ता पार्टीभित्र फाटेका मनहरू जोडिन नसक्नु हो। अघिल्ला स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा कांग्रेसको लज्जास्पद हारका अनेक कारणहरू होलान् तर त्यसमा पहिलो नम्बर त पार्टीभित्रका अनेक गुट, उपगुट, एकले अर्कालाई सिध्याउने प्रवृत्ति नै प्रमुख थियो। यो अवस्थाबाट कार्यकर्ताहरू निकै आजित देखिन्छन्। कार्यकर्ताहरू भन्छन्– ‘पहिले अर्को पार्टीका साथीहरूसँग बसेर कुरा गर्‍यो भने उतैतिर पो लाग्यो कि भन्थे तर अचेल त्यो रोग पार्टीभित्रै सरेको छ। कसैलाई भेट्यो त्यही गुटको हो कि भन्ने स्थिति छ।’ कांगेसको केन्द्रदेखि स्थानीय तहसम्म नै यो समस्या यति गम्भीर भइसकेको छ कि अब कांग्रेसका धेरै उम्मेदवारहरूलाई हराउन विपक्षी दल नै नचाहिने भइसकेको छ। कांग्रेसलाई कांग्रेसले नै हराउने हो भन्छन् कार्यकर्ताहरू। कांग्रेसका केन्द्रीय नेताहरू जो देश दौडाहामा निक्लन्छन्, कसैलाई लाग्ला त्यो सिङ्गो पार्टीको कार्यक्रमको लागि होला तर त्यसो होइन। ती दौडाहाहरू सम्बन्धित गुटले आयोजना गरेका कार्यक्रमहरूमा सहभागी हुनका लागि जान्छन्, जहाँ भिन्न गुटका नेता कार्यकर्ताहरू प्रायः सरिक भई दिँदैनन्। कांग्रेस पार्टीभित्र व्यापक अपरेसन र सुधार नगरेसम्म यो पार्टी खास रूपमा एक हुन कठिन छ। माऊ पार्टीकै महाधिवेशनको लागि यतिसम्म पापड मोल्नुपर्ने स्थिति, भ्रातृ संगठनहरू र पार्टीका विभागहरूको लथालिङ अवस्था हेर्दा कांग्रेस भयानक सांगठनिक रोगको सिकार छ भन्ने प्रस्ट हुन्छ। तर पनि विडम्बना के छ भने पार्टीले गम्भीर रोगको सामना गरिहेको छ भन्ने थाहा पाउँदापाउँदै पनि पार्टीका शीर्ष नेताहरूमा अलिकति पनि गम्भीरता, चिन्ता र जिम्मेवारीपन देखिँदैन। कांग्रेसलाई नजिकबाट बुझ्ने शुभेच्छुकहरू भन्दछन्–कहाँको त्यो बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतको कांग्रेस, कहाँको अहिलेको शेरबहादुर, रामचन्द्रलगायतको कांग्रेस, आकाश–जमिनको अन्तर छ।

निष्कर्षमा भन्नुपर्दा दलहरूका कथित शीर्ष नेताहरूको अर्कमण्यता, अदूरदर्शिता, अनुशासनहीनता तथा अनुत्तरदायी प्रवृत्तिमात्र होइन कि कतिपय सन्दर्भमा देशप्रेम र राष्ट्रिय स्वार्थकै भयानक अभाव जस्ता निकै नै खतरनाक र विनाशकारी प्रवृत्तिले गर्दा इमानदार कार्यकर्ताहरूमा निराशा, उत्साहविहीनता, तनाव र अबकेही हुनेवाला छैन भन्ने कुराहरू व्याप्त छ। हरपल जनतासँग नजिक रहेर काम गर्नुपर्ने कार्यकर्ताहरूलाई नै आफ्नै नेताहरूले केही गर्नेवाला छैनन् भन्ने छ भने अहिलेका चेतनशील जनताले दलका नेताहरूलाई कसरी लिएका होलान् बुझ्न कठिन छैन। देशको यस्तो भयानक अवस्थामा पनि गम्भीर हुन नसक्ने दलका नेताहरूले अब पनि सुध्रिन चाहेनन् भने निश्चित रूपमा नेपालको लोकतन्त्रमाथि भयानक अधिनायकवादी हमला हुनेछ। विश्वका उदाहरणहरूमात्र होइन नेपाली लोकतन्त्रकै आफ्नै अनुभवले पनि त्यो देखाएको छ। आशा गरौं, दलका नेताहरूले पहिले आफ्नै कार्यकर्ताका गुनासाहरूलाई सम्बोधन गरून् र कार्यकर्तामार्फत आफ्ना जनपक्षीय एजेन्डाहरूलाई कार्यान्वयन गर्दै साँच्चिकै समाज परिवर्तनमा योगदान दिन सकून्। झिनो आशा कायमै छ, तथापि केही सकरात्मक परिवर्तन होला भन्ने संकेत चाहिँ कहीँकतैबाट देखिएको छैन।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्