विस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

फाइल तस्बिर

मनाङ – हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ। त्यसैमा पनि यस वर्ष आएको बाढी पहिराेका कारण अझ जोखिम र विकट बनेको छ।

देश संघीयतामा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढी पहिराेले ध्वस्त बनाइदिएको छ।

मर्स्याङ्दी नदीमा आएको बाढी र पहिराेले मनाङको मेरुदण्ड मानिने डुम्रे–बेँसीसहर–चामे सडकखण्ड पूर्ण रुपमा क्षति पुगेको छ। बाढी पहिराले क्षति पुर्‍याएको तीन महिना पूरा भएपछि अहिले भने एकाध भागमा सवारीसाधन चल्न थालेका छन्। केही ठाउँमा भने सडकको निसाना नै नहुँदा नयाँ ट्रयाक बनाउने काम भइरहेको छ।

डुम्रे–बेँसीसहर–चामे सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहरदेखि मनाङको खोत्रोसम्म सवारी सञ्चालन भएको छ तर बीचको १५ किलोमिटर भाग पूर्ण रुपमा अझै पनि अवरुद्ध छ। सदरमुकाम चामेमा सवारी सञ्चालन भएको छ भने माथिल्लो मनाङमा पनि सवारी चलेका छन्।

तल्लो र माथिल्लो मनाङ जोड्ने मनाङ ङिस्याङ गाउँपालिका–१ स्थित तलेखु– भ्राताङ भिरलाई फोडेर नयाँ ट्रयाक निर्माणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिए।

माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लाष्टिङ गर्ने सबै सामग्री उपलब्ध गराउँदै काम पनि भइरहेको उनले बताए। बेँसीसहर–चामे सडक खण्डको १०७ किलोमिटरमध्ये लमजुङको बेँसीसहरदेखि नासोँ गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ।

त्यस्तै चामे गाउँपालिकामा स्थानीयसहितको सहयोगमा पालिकामा पूरै सवारी सञ्चालन भएको उनले बताए। चाडपर्व नजिकिएसँगै सामग्री ढुवानी, आवतजावतमा सहज बनाउनका लागि सडक मर्मत तथा सम्भारलाई तीव्रता दिइएको उनले बताए। बाढी पहिराको जोखिममा पनि उत्पादित खाद्यवस्तु बजारसम्म पुर्‍याउनसमेत सहज हुनेछ। बेँसीसहर–चामे–खाङ्सार सडकखण्ड १०७ किलोमिटरमध्ये धेरै स्थानमा बाढी पहिराले क्षति पुर्‍याएको छ।

विद्युत अभावले स्वास्थ्य सेवा प्रवाहमा समस्या

बाढी पहिराेको जोखिमयुक्त हिमाली जिल्ला मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या छ। बाढी पहिराेका कारण विद्युत आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाट सर्वसाधारण वञ्चित हुने अवस्था छ। आधारभूत आवश्यकता पूरा गर्न टेवा पुर्‍याउने सौर्य ऊर्जाले मात्रै धान्न नसक्दा समस्या उत्पन्न भएको हो।

बाढी पहिराेले मनाङमा विद्युत आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवा प्रत्यक्ष प्रभाव परेको जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले जानकारी दिए।

‘विद्युत आपूर्ति नहुँदा जेनेरेटर चलाइरहेका छौँ’, उनले भने, ‘जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ। हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन। यहाँका सर्वसाधारणलाई विद्युत नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।’
विद्युत आपूर्ति सहज नहुँदा सौर्य ऊर्जा र जेनेरेटरले मात्रै धान्न मुस्किल छ। जेनेरेटर चलाउनका लागि सडक सहज नहुँदा तेल अभावले समस्या निम्त्याएको छ।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्