आइक्यानको अध्यक्षमा ओली सर्वसम्मत

काठमाडौँ – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल (आइक्यान) को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन्। सर्वसम्मत निर्वाचित अध्यक्ष ओलीलाई महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालले शुक्रबार पद तथा गोपनीयताको सपथ गराएका छन्।

कूल १७ सदस्यीय आइक्यान परिषदमा हाल १४ सदस्य निर्वाचित भइसकेका छन् भने महालेखापरीक्षकको सिफारिसमा नेपाल सरकारले तीन सदस्य मनोनीत गर्न बाँकी छ।

नवौँ परिषद्को पहिलो कार्यकालका लागि उपाध्यक्षमा भाष्करसिंह लाला निर्वाचित भएका छन्। सदस्यहरुमा चार्टर्ड एकाउन्टेन्टको तर्फबाट सन्तोष काफ्ले, क्षेत्रगोपाल प्रधान, सुजनकुमार काफ्ले, सुरेन्द्र श्रेष्ठ, रामचन्द्र खनाल, सुजन श्रेष्ठ, पियुष आनन्द र प्रवीणकुमार झा निर्वाचित भए।
अध्यक्ष र उपाध्यक्ष पनि यही वर्गबाट परिषद् सदस्य भएका थिए। आइक्यान ऐनअनुसार परिषद् सदस्यबाट अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन्छ।

चार परिषद् सदस्य हुने दर्तावाला लेखापरीक्षकमध्येबाट पोषराज नेपाल, भोलानाथ पाठक, शङ्कर ज्ञवाली र केशबहादुर केसी पनि सदस्यमा निर्वाचित भएका छन्।

परिषद्को उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा संरचनागत परिवर्तनको आवश्यकता भएकाले सोहीअनुरुप सरकारले काम गर्न लागेको बताएका थिए। यसका लागि आइक्यान जस्तो संस्थाले संस्थागत रूपमै पनि सहयोग गर्नसक्ने तथा दक्ष जनशक्तिका माध्यमबाट सरकारको योजनलाई सहयोग पुर्‍याउनसक्ने उनको भनाइ थियो ।

महालेखापरीक्षक दङ्गालले नयाँ नेतृत्वले लेखा व्यवसायलई अझै मर्यादित र प्रतिस्पर्धी बनाउनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष ओलीले पछिल्लो समय सूचना प्रविधिको उपयोगबाट लेखापरीक्षण व्यवसायमा व्यापक परिवर्तन आएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

पूर्वअध्यक्ष मदनकृष्ण श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको आइक्यानले कोरोना महामारीकै बेला पेशागत हकहितको सुरक्षा र प्रवर्द्धनलगायत काम गरेको बताए ।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्