चुनावपछि अहिलेको सत्ता गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्लाजस्तै पग्लिन्छः ओली

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खर्बौँ रुपैयाँ तल–माथि पर्ने गरी सेटिङमा करका दरहरु हेरफेर गरेको आरोप लगाएका छन्।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अर्बौँको खेल गरेको बताए।

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्लाजस्तै भएको टिप्पणी गरे। चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्लाजस्तै पग्लिने दावी गरे।

उनले भने, ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन थरथर काम्दै डराउँदै। चुनाव प्रतिगमन हुन्छ त के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा? अब १४ महिनापछि चुनाव त गर्नुपर्छ। के देश अनिवार्य रुपमा प्रतिगमनमा जाने भयो त चुनाव गर्दा? जनादेश आउँदा चुनाव प्रतिगमन हुने भो? संविधान मिचिएको हो त? कस्तो शासन खोजेका छन्, यी तानाशाहहरुले? तर चुनाव गराउन यिनीहरु बाध्य छन्। तपाईंहरुलाई दुःख कष्ट यस बीचमा दिन सक्छन्। धेरै चिन्ता नगर्नुस्। चौध महिनामा चुनाव हुन्छ। पन्ध्र महिनामा सरकार बन्छ। यी कता हराउँछन्। कता बिलाउँछन्। यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्। आफै परेको आइस् होइन यो। फ्रिजमा बनाइएका आइस हुन्। यी डल्ला बाहिर राखिदिएपछि एकछिनपछि पग्लिहाल्छन्। त्यसकारण धेरै चिन्ता गर्नुपर्दैन।’

अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए।  जुन पार्टीको सरकार भएपनि कर्मचारीहरुले आफ्नो कर्तव्य, नियम, कानूनको परिधि भित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्