साताको सेयर बजारः ३८ अर्बको कारोबार

काठमाडौँ – धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो। नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ। झन्डै तीन हजार ३ सयको विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो।

यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन दिन ओरालो लाग्यो। नेपाल स्टक एक्सचेन्जका अनुसार कुल २३१ कम्पनीको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता सेयर रु ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७१५ मूल्यमा खरिद–बिक्री भए।

बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर तथा तरलताको अभावका कारण पनि बजारमा प्रभाव परेको छ। आइतबार साताकै सबैभन्दा धेरै कारोबार भएको थियो। तीन दिन नौ अर्बको कारोबार भए पनि दुई दिन पाँच अर्बमा सीमित भयो।

साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भयो। त्यसदिन नेप्से ७१.४३ अंकले बढेर दुई हजार ९४७.४२ मा पुग्यो। ठूला कम्पनीको सेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३.०३ विन्दुले बढेर ५४८.२९ मा पुग्यो। कुल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता सेयर नौ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिद–बिक्री भए।

कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ०.०५ विन्दुले ओरालो लाग्यो भने १२ उपसमूहको सेयर उकालो लागेको थियो। त्यसदिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको खरिद बिक्री भयो। आइतबार विभिन्न नौ कम्पनीका सेयरमा सर्किट लाग्यो।

साताको दोस्रो दिन नेप्सेमा झिनो अंकको वृद्धि भयो। त्यसदिन नेप्से परिसूचक ०.२७ विन्दुले उकालो लागेर दुई हजार ९४७.६९ मा पुग्यो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०.५५ विन्दुले बढेर ५४८.८७ मा पुग्यो। कुल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पुँजीकरण ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुग्यो।

कारोबार भएका कुल १३ उपसमूहमध्ये सात उपसमूहको सेयर उकालो लाग्दो छ उपसमूहको सेयर ओरालो लाग्यो। त्यसदिन पनि कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको सेयर खरिद बिक्री भयो। त्यस दिन नेप्सेमा अजोड अजोड इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्सुरेन्सको सेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।

साताको तेस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट देखियो। नेप्से परिसूचक १८.५४ विन्दुले ओरालो लागेर दुई हजार ९२९.२८ मा ओर्लियो।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.२१ विन्दुले ओरालो लागेर ५४५.६६ मा पुग्यो। नेप्सेसँगै कारोबार रकमसमेत घट्न पुग्यो। कुल २२२ कम्पनीको एक करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए। मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण रु ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको थियो।

त्यसदिन कारोबार भएका १३ वटै उपसमूहको सेयरसमेत ओरालो लाग्यो। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु २७ करोड तीन लाख ७० हजार ५२४ बराबरको सेयर खरिद बिक्री भयो।

साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अंकको गिरावट देखियो। त्यसदिन नेप्से ४०.२६ अंकले घटेर दुई हजार ८८९.०३ मा ओर्लियो। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.१६ विन्दुले घटेर ५३८.५० मा सीमित भयो। नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत पाँच अर्बमा सीमित भयो। कुल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता सेयर पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद–बिक्री भए।

बुधबारको कारोबारपछि बजार पुँजीकरण ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहन पुग्यो। कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लाग्न पुग्यो। सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा पहिरो लाग्यो तर कारोबार नौ अर्बमाथि रह्यो। त्यस दिन नेप्से परिसूचक ७६.६५ विन्दुले ओरालो लागेर दुई हजार ८१२.३८ मा ओर्लियो। यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.७३ अंकले घटेर ५२५.७८ मा सीमित भयो।

कुल २२९ कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर नौ अर्ब तीन करोड ३९ लाख ६२३ मा कारोबार भयो। कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्य ओरालो लागे।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्