मलेसियाबाट एकैदिन ल्याइयो ६ वटा शव

सांकेतिक तस्बिर।

काठमाडौँ – मलेसियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया पुगी विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव शनिबार नेपाल ल्याइएको हो।

६ जनाको शवसँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ। नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो।

जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरूले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए।

स्वयंसेवक रायमाझीले भने, ‘२००२ मा उहाँ मलेसिया जानुभएको रहेछ, त्यसपछि उहाँ नेपालमा सम्पर्कविहीन भएर बस्नुभएको रहेछ, उहाँ त्यहाँ इलिगल्ली बस्नुभयो, लगभग १९ वर्षसम्म बस्नुभयो, पछि छोराहरूसँग यहाँ सम्पर्क भएपछि टिकट काट्ने पैसासमेत छोराले दिएर यता ल्याउने व्यवस्था गर्नुभएको रहेछ, त्यहाँबाट एयरपोर्ट आएपछि एयरपोर्टमै ढल्नुभएछ र पुलिसले काम गर्ने ठाउँमा लानू भनेपछि त्यहाँ जानुभयो, हस्पिटलमा बस्नुभयो, यो सम्पूर्ण काम मलेसियास्थित जनउद्धार केन्द्रले ग¥यो, दुई तीन दिन हस्पिटलमा बसेपछि डेथ हुनुभयो, डेथ भइसकेपछि के गर्ने भन्ने कुरा आयो, त्यसपछि नेपालमा कान्छो छोराले मैले बुबालाई राम्रोसँग देखेको छैन, म सानै हुँदा जानुभएको ल्याइदिनु म हेर्छु भनेपछि हामीले त्यो सबै खर्च व्यहोरेर नेपाल ल्याएका हौँ।’

कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मृत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन। विदेशमा मृत्यु भएकाहरूको शव ल्याउन नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ। सरकारले मृतकका आफन्तको घरसम्म शववाहनमा शव पुर्‍याउने गर्दै आएको छ।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्