राष्ट्रिय फुटसल लिगः स्पोर्टस् क्यासल र दी राइजिङ धरानको विजयी सुरुआत

फाइल फोटो।

कास्की– पोखरामा आजदेखि ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग सुरु भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा पोखरा रङ्शगालाभित्रको बहुउद्देश्यीय कर्भडहलमा सञ्चालन भएको आजको खेलमा गण्डकी प्रदेशको स्पोर्टस् क्यासल पोखरा र दी राइजिङ धरानले विजयी सुरुआत गरेका छन्।

खेलमा स्पोर्टस् क्यासलले प्रभातफेरी युथ क्यासललाई ७–० गोलअन्तरले पराजित गर्न सफल भयो। स्पोर्टस् क्यासलका सुमित श्रेष्ठ र खिमराज गुरुङले समान दुई गोल तथा किशोर गुरुङ, दीपेश घले र विजय गुरुङले एक/एक गोल गरे।

यसैगरी दी राइजिङ धरानले मच्छिन्द्र स्काइ गोललाई ५–४ गोलअन्तरले पराजित गरी जितको खाता खोल्न सफल भयो। राइजिङका रिओस मास्केले दुई र मिलन लिम्बू, दोर्जे तामाङ र सुदीप गुरुङले एक/एक गोल गरे। मच्छिन्द्रका श्रीकृष्ण श्रेष्ठले ह्याट्रिक गरे पनि टोलीलाई जिताउन सकेनन्। मच्छिन्द्रका आशिस सुनमले एक गोल गरे।

नेपालमा पहिलोपटक आयोजना गरिएको फुटसल लिगमा देशका सात प्रदेशबाट गरी १० टोलीले सहभागिता जनाएका छन्। खेल राउण्ड रोविन प्रणालीका आधारमा खेलाइने आयोजकले जनाएको छ। प्रतियोगिताले फुटसल खेलको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने एन्फा फुटसल कमिटीका संयोजक रत्नकुमार श्रेष्ठले बताए।

लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन्। लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। यसैगरी प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ।

असोज २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्