थारू भाषाको गीत ‘हे जितमहान’को म्युजिक भिडियो आयो

काठमाडौँ – आदिवासी थारू महिलाको मौलिक पर्व जितिया नजिकिँदै गर्दा सोही संस्कृति झल्किने थारू भाषाको गीत ‘हे जितमहान’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरी (टीएफसीए)को युट्युब च्यानलमार्फत थारू भाषामा जितियाको (तिहार)को म्युजिक भिडियो सार्वजनिक गरेको हो।

नवीन चौधरी (थारू)को शब्द रचना रहेको उक्त गीतमा अनुमा चौधरी र सुनील चौधरीले स्वर दिएका छन् भने सुनील चौधरीको संगीत छ। गीतमा समीक्षा चौधरी र सोनु कुश्मीले कोरसमा साथ दिएकी छन्।

उक्त गीतको एरेन्ज गणेश चौधरीले गरेका छन् भने चन्द्र चौधरीको छ। यस्तै, गीत म्युजिक भिडियो जनक चौधरीले गरेका छन् भने सम्पादन हेमन तामाङले गरेका छन्।

यस्तै, उक्त गीतको म्युजिक भिडियोको छायांकन थारू बाहुल्य जिल्ला सुनसरीको रामधुनी, परिहारपुर र मधैली गाउँमा गरिएको छ।

थारू संस्कृति झल्किने उक्त म्युजिक भिडियोको मुख्य भूमिकामा सविता चौधरी, गोविन्द चौधरी देखिएका छन्।
पूर्वीया थारू समुदायमा जितिया कसरी मनाइन्छ भन्नेबारे जानकारी तथा मौलिक संस्कृतिको जगेर्ना गर्न यो म्युजिक भिडियो बनाउनुपरेको थारू चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका सचिव जनक चौधरीले बताए।

उनले भने, ‘तराईमा थारू महिलाको मौलिक पर्व जितियालाई गीतमार्पmत जगेर्ना गर्न यो गीत र म्युजिक भिडियो बनाएका हौं। हामीले थारू संस्कृति झल्कने अझै गीत र म्युजिक भिडियो निरन्तर बनाउने तयारीमा छौं।’ यस वर्ष जितिया पर्व असोज १३ गते बुधबार परेको छ।

के हो जितिया पर्व ?

आफ्ना सन्तान तथा परिवारको सुस्वास्थ्य र सुरक्षाको कामना गर्दै विशेष गरी तराईमा बसोवास गर्ने थारू महिलाले मनाउने पर्व हो जितिया। असोज कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म यो पर्व मनाइन्छ। सप्तमीको दिन नहाय खाएर यो पर्व सुरु हुन्छ।

नहाय खाने दिन (सोमबार) व्रतालुले स्थानीय जलाशयमा गई स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दूर चढाएर पूजा गर्छन्। यस पर्वमा नहाय खाएको दिन अनिवार्य व्रतालुले माछा तथा मरुवाको रोटी खाने चलन छ।

पर्वको दोस्रो दिन अर्थात् अष्टमीका दिन (मंगलबार) व्रतालु महिला २४ घण्टा लामो निराहार उपवास बस्ने गर्छन्। उपवासका दिन महिला गाउँको एकै ठाउँमा जम्मा भई भगवान जितवाहानका कथा श्रवण गर्ने तथा गीत भजन गाउने चलन छ।

यस पर्वको अवसरमा ठाउँ–ठाउँमा भव्य जितिया मेलासमेत आयोजना गरिन्छ। पर्वको अन्तिम दिन अर्थात् नवमी तिथिका दिन व्रतालु महिला पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगाई उक्त पवित्र चौकामा चिउरा, दही तथा सखरको प्रसाद बनाई अघ्र्य दिएर पर्व समापन गरिन्छ।

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्