आज इन्द्रजात्रा, कुमारी यात्रा हेर्न राष्ट्रपति हनुमानढोका पुग्ने

काठमाडौँ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आइतबार परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ।

शनिबार बिहान ६ः५७ बजेसम्म द्वादशी रहेकाले त्यसै दिन इन्द्रध्वजोत्थानको साइत निस्किएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आइतबार बिहान सूर्योदय चतुर्दशी तिथिमा हुने भएकाले यस दिन इन्द्रजात्रा मनाउने निर्णय गरिएको समितिको भनाइ छ। यसपटक त्रयोदशी तिथिमा सूर्योदय नभएको समितिले जनाएको छ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ। काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ। उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।

इन्द्रजात्राको दिन मुख्य रूपमा मनाइने पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ। राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पतन’ गर्ने अर्थात् लडाउने विधान रहेको भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ।

यस उपलक्ष्यमा आइतबार उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन सोमबार स्नान गरेर मेला भर्न भक्तजनहरूको घुइँचो लाग्छ ।

प्रधानमन्त्री देउवाद्वारा इन्द्रजात्राको शुुभकामना

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी मनाइने इन्द्रजात्रा पर्वको अवसरमा नेवार समुदायलगायत सम्पूर्ण नेपालीमा सुख, शान्ति, समद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।

उनले इन्द्रजात्राका अवसरमा शुभकामना व्यक्त गर्दै कोभिड–१९ महामारीका कारण यस्ता सामाजिक र सांस्कृतिक परम्परालाई पराम्परागत रुपमा आपसी भेटघाट, उपस्थिति र समारोहका साथ मनाउन कठिनाइ भए तापनि आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्न स्वाास्थ्यका मापदण्ड पालना गरेर हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री देउवाले यस पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीचको आपसी सम्बन्धमा विश्वास, सद्भाव, सहिष्णुता, सहयोग र भाइचाराको भावनालाई सबल बनाउँदै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास लिएका छन्।
उनले प्राचीन सभ्यता र संस्कारको अद्भूत संगमको इतिहास बोक्दै पुस्तौंदेखि चलिआएको यस पर्वले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्न सबैमा शक्ति तथा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्