लन्डनमा एनआरएनए तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु

लन्डन – बेलायतको राजधानी लण्डनस्थित नेपाली दूतावासमा शनिबार तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु भएको छ। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्त रुपमा उक्त तीनदिने सम्मेलनको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको सुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली संघ तथा संसारभर रहेका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिए।

उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुराउने कामलाई सर्वाेच्च प्राथमिकता दिएको जानकारी दिए।

सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूमा प्रशस्त सम्भावना रहेको बताउँदै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएर सकृय हुन आग्रह गरे। शर्माले संघ कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारमा खटिएको बताए।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए। उनले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिए।
महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीनदिने सम्मेलन केन्द्रित रहने उनले बताए।

उनका अनुसार सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिकको कार्यपत्र प्रस्तुत हुने तथा ५० भन्दा बढी कार्यशाला सञ्चालन गरी समूहगत छलफल हुने जानकारी दिए।

नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले बेलायतले नेपालको स्वास्थ्य सेवालाई बलियो बनाउन लामो समयदेखि सघाउँदै आएको बताइन्। उनले कोभिड १९ सँग जुध्न बेलायतले नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।

सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले सम्मेलनकै क्रममा आइतबार भूतपूर्व गोर्खालगायत नेपाली समुदायको स्वास्थ्य परीक्षण तथा च्यारिटी डिनर आयोजना गरिएको जानकारी दिए।

सम्मेलनका लागि यूके संयोजक डा सुनिल साहले कोभिड १९ महामारीबाट के सिक्यौं, अब के गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको बताए।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा मनकुमारी राईलगायतले शुभकामना दिएको सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा पदम सिम्खडा तथा डा बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए।

शुक्रबार बिहान भर्चुएल माध्यमबाट सुरु भएको सम्मेलन आइतबार साँझ लण्डन घोषणापत्र जारी गर्दै समापन हुने बताइएको छ।

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्