इन्द्रजात्राका दुई केन्द्र- काठमाडौंमा आकाश भैरव, भक्तपुरमा हाथुद्यः

काठमाडौँ– आज इन्द्रजात्रा । यो जात्रा विशेषतः काठमाडौँको प्रमुख जात्रा हो। काठमाडौंमा पनि इन्द्रजात्रा हनुमानढोका दरबार क्षेत्र वरिपरिमात्रै केन्द्रित छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको आकाश भैरवको अजंगको मुखाकृति इन्द्रजात्राको मुख्य आकर्षण हो। इन्द्रजात्राको अवसरमा आकाश भैरवको मुखबाट जाँड खन्याउने र उक्त जाँड खान भक्तजनहरुबीच तँछाडमछाड नै हुन्छ। आकाश भैरव देवताको प्रसादको रुपमा उक्त जाँड खाने युवायुवतीहरुको समेत आजभोलि ठूलै भीड हुन्छ।

तर यही आकाश भैरव भने भक्तपुरमा हाथु द्यःको नामले पुकारिन्छ। भक्तपुरमा पनि उक्त हाथुद्यःको मुखबाट जाँड खनाएर प्रसादको रुपमा खाइन्छ। भक्तपुरमा मल्लकालीन मुख्य २४ टोलसहित करिब ३२ ठाउँमा हाथुद्यःका मुखाकृति हुन्छन्। भक्तपुरका हाथुद्यःका मुखाकृति सानो आकारका छन्। काठले बनेका यी मुखाकृति करिब २ फिटभन्दा अग्ला छैनन्। मुखाकृतिको कलाकृति समान देखिन्छन्।

काठले बनेका यी मुखाकृति समयक्रमसँगै मक्किएर जीर्ण भएसँगै भक्तपुरमा हाथुद्यः र हाथुद्यःको मुखबाट जाँड खन्याएर खाने प्रचलन लोप हुने अवस्थामा पुगेको छ। यी हाथुद्यः एकाध ठाउँमा मात्रै भेटिन्छन्।

‘मल्लकालसम्म हाथुद्यःको मुखबाट जाँड खन्याएर खाने प्रचलन थियो’, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने, ‘तर अहिले त्यो प्रचलन चलनमा छैन। भक्तपुरमा हाथुद्यः नै भेट्न र देख्न मुस्किल हुँदै आएको छ।’

उनका अनुसार अहिले भक्तपुर नपा ३ नासमनामा मात्रै हाथुद्यः देख्न पाइन्छ। उनले काठमाडौंको आकाश भैरव र भक्तपुरका हाथुद्यः भने इन्द्रकै प्रतीक रहेको बताए।

काठमाडौंमा इन्द्र, भक्तपुरमा जयन्त

इन्द्रजात्राअन्तर्गत काठमाडौंमा इन्द्रध्वजोत्थान गर्ने दिन नै भक्तपुरमा पनि यमद्यः ठड्याइन्छ। काठमाडौंमा स्वर्गका राजा इन्द्रकै प्रतीकको रुपमा इन्द्रध्वजासहितको करिब ३२ हात लामो यःसिं अर्थात यमाद्यः (लिंगो) ठड्याइन्छ तर भक्तपुरमा इन्द्रका छोरा जयन्तको प्रतीकस्वरुप सानो यमद्यः ठड्याइने प्रचलन छ।

काठमाडौंमा हनुमानढोका दरबार क्षेत्रमा एउटामात्रै यःसिं ठड्याइन्छ भने भक्तपुरमा मल्लकालीन २४ मुख्य टोलसहित करिब ३२ ठाउँमा जयन्तको यमद्यः ठ्याइन्छ। भक्तपुरका खौमा, सुकुलढोकालगायत केही ठाउँमा दुइटा यमद्यः ठड्याइन्छन्।

काठमाडौंमा राज्यस्तरबाटै यःसिं ठड्याइन्छ। भक्तपुरमा स्थानीय वासिन्दा विशेषतः व्यक्ति विशेषले यी लिंगो ठ्याउँछन्। व्यक्ति विशेषले जग्गाजमिनको आयस्तासहित इन्द्रजात्राको अवसरमा यमद्यः ठड्याउने र झिक्ने व्यवस्था गरिएको संस्कृतिकर्मी धौभडेल बताउँछन्।

सोही व्यक्तिका छोरानाति तथा पुस्ताले निरन्तरता दिएका ठाउँमा अहिले पनि यमद्यः ठडिएका छन्। तर जहाँ पुस्तान्तरण भएन र आयस्ताका लागि राखिएका जग्गाजमिन हराएपछि केही ठाउँमा यमद्यः ठड्याउन छोडिएको उनले बताए।

जहाँ यमद्यः, त्यहाँ हाथुद्यः

उनका अनुसार मल्लकालमा भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच प्रदर्शन हुने सबै टोल र ठाउँमा इन्द्रजात्राको अवसरमा यमद्यः ठड्याइन्थ्यो। जहाँजहाँ यमद्यः ठड्याइन्छ, त्यहाँत्यहाँ हाथुद्यः पनि सार्वजनिक रुपमा प्रदर्शन गरिने प्रचलन रहेको धौभडेल बताउँछन्।

‘जसरी स्थानीयले यमद्यः ठड्याउने र त्यसको लागि आयस्ताको व्यवस्था गरेका थिए त्यसरी नै हाथुद्यः पनि स्थानीयले प्रदर्शन गर्ने व्यवस्था गरेका थिए’, उनले भने, ‘हाथुद्यः स्थानीयको निजी सत्तल वा पाटीमा प्रदर्शन गरिन्थ्यो।’

उनका अनुसार आफ्ना छोरा जयन्त राक्षसराज मूःपात्रको कैदमा परेपछि त्यसको रक्षा गर्न इन्द्र स्वयम् हाथुद्यःको रुपमा पृथ्वीका आएको जनकथन रहेको छ।

‘त्यसैले भक्तपुरमा जहाँजहाँ यमद्यः ठड्याइन्छ, त्यहाँत्यहाँ अनिवार्य रुपमा हाथुद्यः हुनुपर्ने हो’, धौभडेलले थपे, ‘तर जात्रा पुस्तान्तरण नहुँदा, जग्गाजमिनको आयस्ता हुन छोड्दा र हाथुद्यः बनाइएको काठ मक्किएर जीर्ण हुँदै नासिँदा यसको प्रदर्शन खुम्चिँदै आएको छ।’

इन्द्रले हाथुद्यः भएर आफ्नो प्रत्यक्ष सुरक्षामा राखेका यमद्यःको भक्तपुरका सर्वसाधारणले जीवन रक्षाको कामना गरेका हुन्छन्। जनैपूर्णिमाको दिन आफ्नो हातमा बाँधिएको डोरो सर्वसाधारणले यमद्यःमा बाँध्ने प्रचलन रहेको छ।

‘आफ्नो रक्षाको लागि बाँधिएको डोरो झिकेर सर्वसाधारणले यमद्यःलाई लगाइदिनुले इन्द्रजात्राको जीवन्तता प्रस्ट हुन्छ’, संस्कृतिकर्मी धौभडेलले भने ।

पृथक भक्तपुरको इन्द्रजात्रा

उनले भक्तपुरको इन्द्रजात्रा काठमाडौंको भन्दा फरक एवं पृथक रहेको बताए।

भक्तपुरमा आठ दिनसम्म इन्द्रजात्रा चल्छ। भाद्र शुक्ल पक्ष द्वादशीको दिन यमद्यः ठड्याएर यहाँ विधिवत रुपमा इन्द्रजात्रा सुरु हुन्छ।

यमद्यः ठड्याइएको छैटौं दिन मूःपात्र जात्रा हुन्छ। मूःपात्रसँगै याः मता (आकाश द्वीप) जात्रा हुन्छ। इन्द्रजात्राको अन्तिम दिन पुलुकिसी जात्रा हुन्छ। पुलुकिसी देवराज इन्द्रको वहान ऐरावत हात्तीको प्रतीक हो।
काठमाडौंमा इन्द्रजात्रा सकिएको चौथो दिन भक्तपुरमा पुलुकिसी जात्रा गरेर इन्द्रजात्राको विधिवत समापन गरिन्छ।

भक्तपुरको इन्द्र जात्रासम्बन्धी किम्बदन्ती

इन्द्रजात्रासम्बन्धी किम्बदन्तीअनुसार इन्द्रका आमा बसुन्धरालाई गणेश चतुर्थीको दिन व्रत बस्न पारिजात र खाइसी (अमिलो जातको एक फल) आवश्यक पर्छ। स्वर्गमा यी चिज नपाइने भएपछि इन्द्रले आफ्ना छोरा जयन्तलाई मत्र्यलोकबाट पारिजात र खाइसी ल्याउन अह्राउछन्।

मर्त्यलोकमा आएका जयन्तले कसैसँग नसोधी पारिजातको फूल र खाइसी टिप्छन्। उनले पारिजात टिपेको देखेकाले जयन्तलाई समाउँछ।

त्यसबेला मत्र्यलोकमा राजा राक्षसराज मूःपात्र हुन्छन्। जसले गर्दा इन्द्रका छोरा जयन्तलाई मूःपात्रकहाँ पुर्‍याइन्छ। उनले आफ्नो राज्यको पारिजात फूल चोरेको भन्दै सजायस्वरुप जयन्तको हात काटिदिन्छन् र चोकमा सबैले देख्ने गरी पाता कसेर राख्छन्।

त्यही पाता कसेर राखेको प्रतीकस्वरुप भक्तपुरका टोल टोलमा यमद्यःचा ठड्याइँदै आएको संस्कृतिकर्मी धौभडेल बताउँछन् ।

मूःपात्रको कैदमा रहेको उनै जयन्तलाई छुटाउन इन्द्रले सलाँ गणेश र छुमा गणेशलाई पृथ्वीलोकमा पठाउँछन्। तैपनि मूःपात्रसँग उनीहरु पराजित हुन्छन्। त्यसपछि इन्द्रले आफ्नो बहान ऐरावत हात्ती र मसान भैरवलाई जयन्त छुटाउन पठाउँछन्। सोही ऐरावत हात्तीले जयन्त छुटाएर लगेको सन्दर्भमा भक्तपुरमा इन्द्रजात्राको चौथो दिन पुलुकिसी जात्रा मनाइँदै आएको संस्कृतिकर्मी धौभडेल बताउँछन् ।

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्