‘जनयुद्ध’मा ग्रिनेड बनाउने यी मा‌ओवादी वैज्ञानिक

त्यसदिन पनि दौडधुपबाट थाकेका देवेन्द्र साथीहरुसँग कोठामा सुस्ताइरहेका थिए। मात्र ८ बजेको भए पनि रात शान्त थियो। देवेन्द्रलाई ठ्याक्कै थाहा छैन, तर २०५९ सालको अन्त्यको समय थियो। राजाले शासन सत्ता हातमा लिएका थिए। संकटकाल थियो। मानिसहरु साँझ पर्नासाथ घर पसिसक्थे। सडकमा शाही नेपाली सेनाले गस्ती गर्थ्यो।

‘तिमीहरु त माओवादी रहेछौ,’ ढोकाबाट चियाएर घरबेटीले भने।

उनीहरुले एकअर्कामा मुखामुख गरे। हतास अनि आश्चर्यमा थिए घरबेटी। ‘तिमीहरुको फोटो माथि टीभीमा देखाइरहेको छ। टाउकाको मूल्य ५० लाख तोकेको छ,’ घरबेटीले एक सासमा भनेर सके।

कोठाभित्र भएका सबैको नाम फटाफट भने। काठमाडौँको जैसीदेवलका कोठामा देवेन्द्रसँगै दिलीप प्रजापति, पवनमान श्रेष्ठ, कुमार दाहाल थिए। उनीहरु त्यहाँ गलत नाम भनेर बसेका थिए ।

देवेन्द्रहरुसँग जवाफ थिएन। घरबेटी माथि उक्लिए।

लुकेर बसेका उनका साथीहरुको सेल्टरहरु ‘एक्पोज’ हुँदै गएका थिए। साथीहरु बसेको ठाउँमा छापा मार्न थालिएको थियो। साथीहरु पक्राउ पर्दै गएका थिए। देवेन्द्रलाई लाग्छ–उनीहरुलाई नभेटेपछि फोटो टेलिभिजनमा हालेर टाउकाको मूल्य तोकियो।

मनमा त्यहाँबाट भाग्ने आइसकेको थियो। तर लाग्यो घरबेटी बदमास भएको भए यसरी हामीलाई भन्ने थिएनन्। पैसा हाल्ने झोला बोकेर प्रहरीकोमा पुग्ने थिए। उनीहरुले घरबेटीमाथि विश्वास गरे। त्यहीँ बस्ने निधो गरे।

त्यसपछिका दिनमा देवेन्द्रहरुलाई घरबेटीले घरबाहिर जान दिएनन्। पसलमा सामान लिन जाँदा पनि भन्थे, ‘कहाँ जान लागेको? तिमीहरुको टाउकाको मूल्य तोकेको छ। बाहिर निस्कन खतरा हुन्छ। दाल, तरकारी, चामल हामी ल्याइदिउँला।’

देवेन्द्रलाई लाग्छ– त्यो घरबेटीको सद्भाव थियो। उनी भन्छन् ‘त्यसैले त जिउँदो छु म।’ जम्काभेट हुने मान्छेले चाहेको भए एक सेकेण्ड पनि बाच्न सक्ने थिएनौँ हामी।

माओवादी यात्रा

पत्रिकामा छापिएका तस्बिर राम्रा हुन्थे। गुहुँ काट्दै गरेका किसानको फोटो राखेर लेखिएको हुन्थ्यो ‘चिनियाँ किसान गहुँ खेती गर्दै।’

पाना पनि राम्रा हुन्थे। आफूले गरेका राम्रा कामको तस्बिर चीनले पत्रिकामा छाप्थ्यो।

त्यतिबेला चितवन गीतानगरको देवेन्द्रको घरसम्म आइपुग्थ्यो ‘चीन सचित्र’ पत्रिका जुन चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र थियो। स्कुल पढ्दा उनले ती पत्रिकाले किताबको गाता हाल्थे।

तस्बिर: माओ/गेट्टी इमेजे

किताबको गातामा छापिएका राम्रा फोटो हेर्थे। लाग्थ्यो, हो कि के हो?

उनी भन्छन्– एक हिसाबले त्यो कुरोले पनि कम्युनिष्टतिर मेरो मन ढल्कियो। तर कारण अर्को पनि छ। उनको बुवा कम्युनिष्ट थिए।

०००

अवस्था लगभग अहिलेको जस्तै थियो। पञ्चायत फालेर देशमा बहुदल आयो तर राजनीतिक अन्योल र भ्रष्टाचार चुलियो। विकासका काम भएनन्। २०४७ सालको परिवर्तनले पनि देशमा स्थीरता दिएन। सरकार ढाल्ने र बनाउने खेल चलिरह्यो। त्योताका देवेन्द्र कम्युनिष्ट पार्टीमा लागिसकेका थिए। बिएसस्सी पढ्दै गरेका उनी पाटन क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिलको सदस्य थिए।

तस्बिर: प्रकाश माथेमा

पुल्चोक क्याम्पस र पाटन क्याम्पसमा त्यसताका राजनीतिक गतिविधि धेरै हुन्थे। उनलाई लाग्थ्यो, अप्ठेरो परिस्थितिबाट नगुज्रिए यो समाज बदलिँदैन।

२०३८ सालमा देवेन्द्रको परिवार भक्तपुरको सल्लाघारीमा सरिसकेको थियो। त्यसताका मोहन वैद्य, वेपत्ता भएका मिलन नेपालीका बुवा तिलबहादुर खवास आइरहन्थे। समाजमा भएका गलत कामका विरुद्ध लड्नुपर्छ भन्थे।

‘त्यतिबेला पार्टीको अध्यक्ष दिनेश शर्मा हुनुहुन्थ्यो। हाल उहाँ मोहन वैद्यको पार्टीमा हुनुहुन्छ। उहाँले पूर्णकालीन सदस्य हुनुपर्छ भन्नुभयो,’ देवेन्दले सम्झिए।

२०५२ सालतिरको कुरा हो। त्यतिबेला उनी बिएससी सकेर डिल्लीबजार र बागबजारको एक इन्स्टिच्युटमा इलेक्ट्रोनिक्स पढ्थे र पढाउथे पनि। सबै छोडेर ५२ साल फागुन १ गतेबाट उनी ‘जनयुद्ध’मा लागे। माओवादीका कार्यकर्ता भए।

०००

भक्तपुरमा पार्टी फुट्यो। त्यतिबेला नेकपा एकता केन्द्र भन्ने पार्टी थियो। भक्तपुरमा बलियो थियो। ‘प्रचण्ड पथ’मा निर्मल लामा लागेनन्। लामाले जनयुद्धमा नजाने निर्णय गरे। नेकपा एकता केन्द्र फुट्यो। नयाँ नेकपा माओवादी बन्यो। धेरैले पार्टी छोडे। निष्कृय भए, जनयुद्धको डरले।

देवेन्द्रहरु कमजोर भए। बैकुण्ठ श्रेष्ठ, दिलीप प्रजापति, भाष्कर प्रधानाङ्ग र देवेन्द्र मात्र बाँकी रहे। चार जनाले सुरु गरे भक्तपुरमा ‘जनयुद्ध’।२०५६ सालको स्थानीय चुनावसम्ममा उनीहरुले पार्टी बलियो बनाइसकेका थिए। भक्तपुरमा भात खाने र बास बस्न सक्ने ठाउँहरु बनाए। देवेन्द्र भन्छन्, ‘चलखेल गर्न सक्ने वातावरण बनायौँ। त्यसका लागि ठाउँहरु बनायौँ।’

माओवादीमा वैज्ञानिक

फौजी गतिविधि सुरु भइसकेको थियो ५८ सालभन्दा अघि नै। पार्टीले कटुवा पेस्तोल र बम बनाउने तालिम दिने भयो। इन्जिनियरिङ पढेका देवेन्द्र बारा जिल्लातिर लागे। त्यतिबेला गोरखा र बारा जिल्लामा तालिम दिइएको थियो। बाराको निजगढभन्दा उत्तरतिर वुङजोर भन्ने ठाउँमा उनले तालिम लिए। २०५६ सालतिर भारतीय माओवादीले तालिम दियो।

त्यहाँ उनले राम्रो सिके। ‘बारा जिल्लाबाट म र गोरखाबाट पश्चिमका ‘कान्छा’ र ‘झरना’ भन्नेले राम्रो सिकेका थियौँ। कान्छा स्याङ्जामा शहिद भए, झरनाले पार्टी छोडे। बचेको म मात्र छु,’ उनले भने।

इन्जिनियरिङ पढेका देवेन्द्रलाई सिक्न समय लागेन र सिकेको कुरा अरुलाई सिकाउन पनि अप्ठेरो भएन। त्यसपछिका दिनमा उनले पार्टीमा जानेको काम गर्न थाले अरुलाई सिकाउन थाले।

धेरैजसो उनी काठमाडौँमा नै बसे। भक्तपुर, काभ्रे, मकवानपुर, सिन्धुली कहिले कहाँ कहिले कहाँ बास हुन्थ्यो। जहाँ पनि हिँडेरै जान्थे। भारतको बाटो हुँदै कहिलेकाहीँ रोल्पा र रुकुम पुग्थे पार्टीले बोलाउँदा।

उनले माओवादी सेनाका लागि ग्रिनेड धेरै बनाए। उनी भन्छन्, ‘ग्रिनेडभित्र च्याम्बर, सेन्टर पीस, स्प्रिङ हुन्छ त्यो आफै घोट्न वा बनाउन सकिँदैनथ्यो। उपत्यकाका फरक–फरक ठाउँमा गएर फरक–फरक पुर्जा बनाउन लगाउँथेँ। कतै हाम्रो गाडीको हो त कतै लुगा सिलाउने कलको पार्टस् हो भन्दै झुट बोलेर धेरै मात्रामा बनाउन लगाउँथेँ।’

‘के को लागि हो?’ कसैले सोध्थे। कसैले सोध्दैनथे। हाँस्दै उनले भने, ‘कहिलेकाहीँ अरुले बनाएर नहुने सामान बनाउन हामीले गाउँमा भट्टी चलाउँथ्यौँ।’

ती फरक–फरक ठाउँमा बनेका सामान काठमाडौँ ल्याएर जोडजाड पारेर उनीहरुले बम बनाउँथे।

देवेन्द्र भन्छन्, ‘त्यसरी काम गर्न गाह्रो भएपछि मैले सबै इलेक्ट्रोनिक्स ग्रिनेड बनाएँ। सेनाको ग्रिनेडमा धेरै पुर्जाहरु लाग्थ्यो। त्यो सामान जोडजाम गर्न हम्मे पथ्र्यो।’ उनको पहिलो इलेक्ट्रोनिक्स ग्रिनेड थियो SW-55, जुन शहिद सुरेश वाग्लेको नाममा बन्यो २०५५ सालमा। त्यो एक्सप्लोरर थियो। ल्यान्ड माइनलाई विस्फोट गर्ने। उनले LKD-56 बनाए। यो २०५६ सालमा बन्यो। यो पनि शहिदहरुको नाममा बनेको थियो। लली रोका, कमला भट्ट, र दिलमाया योञ्जनको नाममा।

देवेन्द्र माओवादीका वैज्ञानिक भनेर चिनिसकेका थिए। जसको पुष्टि काठमाडौँमा भएको एक घटनाले भयो।

पत्रिकाकाे समाचारले बनाएकाे माओवादी बैज्ञानिक

युद्ध उत्कर्षमा थियो। खतरा बढ्दै गएपछि बादल देवेन्द्रको कोठामा लुक्न आएका थिए। अहिलेका गृहमन्त्री बादल त्यतिबेला उपत्यका इन्चार्ज थिए। एक रात देवेन्द्र बस्ने चिकुमंगलको घरमा ढोकाको घण्टी रातभरि बज्यो। उनीहरु चारतला माथि थिए। बादल छुट्टै कोठामा सुतेका थिए।

बादलले देवेन्द्रको ढोका ढकढकाए। देवेन्द्रले चाल पाएनन्। ‘मैले त उहाँले ढोका ढकढकाएको आवाज नै सुनेनछु। अरु कसैले पनि ढोका खोलेनछन्,’ देवेन्द्र सम्झन्छन्, ‘रातभर घण्टी बजेछ। हामी कसैले थाहा पाएनौँ।’
भोलिपल्ट बादलले भनेको कुरा सम्झँदै उनले भने, ‘रातभर असामान्य तरिकाले घण्टी बज्यो। म त हामफालेर अर्को घरको छतमा जाने सोचिसकेको थिएँ।’ ‘पल्लो घर टाढा थियो। जहाँ पुग्नुअघि नै बादल भुइँमा झर्नुहुन्थ्यो,’ देवेन्द्रले भने ।

घण्टी बजेको कसैले चाल पाएनन्, कसैले ढोका खोलेन। रातभर कसले घण्टी बजायो? उनीहरुको मन चिसो भयो। त्यसदिन बादललाई त्यो घरबाट निकालियो। केही दिनपछि देवेन्द्र पनि कम्प्युटर र केही सामान बोकेर हिडे। त्यो कोठामा आउन छोडे।

त्यतिबेला न्यूरोडको आरबी कम्प्लेक्स नजिकै स्पेशल टास्क फोर्सको कोठा थियो। जसले उपत्यकामा सैन्य गतिविधि गर्दथ्यो। उनी त्यहीँ बस्न थाले। हाँस्दै उनीले थपे, ‘अन्त बस्ने ठाउँ नै थिएन के गर्ने।’

चिया खाँदै पत्रिका पढिरहेका उनका आँखा एउटा हेडलाइनमा गए। ‘माओवादीका केन्द्रिय वैज्ञानिकको कोठामा छापा।’ उनलाई लागेको थिएन उनको कोठामा छापा मारेको। तर हेर्दै जाँदा उनले आफ्नो नाम देखे।

‘म त्यहाँ अघिल्लो दिन जाने योजनामा थिएँ। यसरी कति बेवारिसे बनेर घुम्ने भन्ने मनमा लागेको थियो। ज्वरो आएका कारण साथीहरुले कोठामा फर्कन दिएका थिएनन्,’ उनले सम्झिए।
यता साथीहरुले रोके। उता त्यही रात सेनाले कोठामा भएको सामान गाडीमा हालेर लिएर गयो।

०००

देवेन्द्र अलिकति भावुक भए। ‘मैले बनाएको बमले धेरैको ज्यान गयो होला। धेरै संरचना ध्वस्त भयो होला तर मेरो हातबाट कसैको ज्यान गएको छैन।’ त्यसो त उनी माओवादीमा सैन्य तालिम लिने पहिलो टोलीका एक सदस्य हुन्। ‘२०५७ सालमा पार्टीको फौजी तालिमका लागि काठमाडौँबाट दिलिप प्रजापति (भिष्म) र म छानियौँ,’ उनले भने।

ट्रेनिङ रोल्पाको दारभोट जंगलमा भयो। करिब दुई महिनाको सैन्य तालिम पासाङले दिए। ‘सय जनालाई तालिम दिइएको थियो। त्यसपछि नै हो ‘जनमुक्ति सेना’ भनेर घोषणा गरेको। त्यो भन्दा पहिला लडाकु दस्ता भनिन्थ्यो,’ उनले भने, ‘त्यतिबेला तालिम लिएका विविध, राजेश लगायत धेरै जना सेना समायोजन नहुनेबेलासम्म डिभिजन कमाण्डर भएर बसेका थिए।’

तालिमपछि हामी काठमाडौँ फर्कियौँ हाँस्दै उनले भने, ‘हामी सहरी गुरिल्ला भयौँ।’

०००

२०५९ सालमा संकटकालपछि देवेन्द्रलाई पार्टीले रोल्पा बोलायो। त्यतिबेला सञ्चार चिठ्ठी र फोनबाट हुन्थ्यो। खबर पाएपछि देवेन्द्र भारतको बाटो हुँदै रोल्पा लागे। पार्टीमा सञ्चारको अभाव देखेका उनले त्यसलाई व्यवस्थि गर्न सुरु गरे।

त्यसबेला वर्गशत्रुका सबै कुराहरु नष्ट गर्नुपर्छ भन्ने मान्यता माओवादीमा थियो। युद्धमा बरामद भएका सबैचिज माओवादी लडाकुहरुले नष्ट गरिदिन्थे। सोलार फुटाइदिन्थे, ब्याट्री भिरबाट लडाइदिन्थे। देवेन्द्रले यो कुरामा परिर्वतन ल्याए। बरामद भएका सामानहरु नष्ट गर्नुभन्दा आफैले प्रयोग गर्नुपर्ने धारण राखे। त्यसपछिका युद्धमा जितेर हात पारेका सामानहरुको प्रयोग हुन थाल्यो। प्रहरी वा सेनाबाट बरामद भएका सञ्चार सेटहरु उनले आफ्नो पार्टीको सञ्चारमा लगाए।

तस्बिर: गेट्टी इमेजेज

त्यतिबेला माओवादीमा जनसैन्य प्रतिष्ठान थियो, जसले जनमुक्ति सेनाको रेकर्ड राख्थ्यो। तालिम विभाग बन्यो, जसको प्रमुख नेपाली सेनाबाट विद्रोह गरेर आएका एकजना थिए ‘संघर्ष’। ‘आएनटी’ विभाग बन्यो जसको प्रमुख इण्डिएन आर्मीबाट रिटायर्ड ‘बा’ थिए ‘प्रभात’। गुप्तचरको काम त्यो विभागले गथ्र्यो।

‘८१ विभाग जसले हतियारको काम गथ्र्यो। जसको लिड ‘अग्नि बा’ हुनुहुन्थ्यो। जसले हामीले कब्जा गरेका अत्याधुनिक हतियारको बारेमा सिकाउनु हुन्थ्यो,’ हाँस्दै उनले भने ‘नत्र हामीले कहाँ थाहा पाउनु एलएमजी, ८१ एमएम, जीपीएमजी जस्ता हतियारको बारेमा। उहाँले नै सबैकुरा सिकाउनु हुन्थ्यो।’

अर्को सफ्टवयर डिपार्ट थियो। जसको प्रमुख देवेन्द्र थिए ।

०००

‘मैले कुनै पनि युद्ध लडेको छैन,’ भावुक हुँदै उनले भने, ‘मैले बनाएको बमबाट धेरैको ज्यान गयो होला, धेरै क्षति भयो होला तर मेरो हातबाट कसैको ज्यान गएको छैन।’

‘त्यतिबेला लाग्थ्यो हामीले ठिक गरिरहेका छौँ,’ देवेन्द्र भन्छन्, ‘हो एउटा विचारबाट निर्देशित भएर गरिब जनता युद्धमा सामेल भएका थिए। वास्तवमा हामी आ–आफै लड्यौँ। जो जति मरे ती सबै गरिबका छोरा थिए। एउटा माओवादी गरिबको छोरो थियो । एउटा सेना गरिबको छोरा थियो।’

देवेन्द्रले परिवार भन्न पाएनन्। बुवाको अन्तिम संस्कारमा सामेल हुन पाएनन्। हुँर्कदै गरेका साना छोराछोरीलाई घरमा चटक्कै छोडेर हिँडे। श्रीमती इन्द्रमाया सुवालले देवेन्द्रका हरेक यात्रामा साथ दिइन्। उपत्यकाका गल्लिमा देवेन्द्रसँगै लुकी हिँडिन्। पार्टीका लागि उनी सरिता बनिन्।

परिवारले छोरो भनेन। छोराछोरीले बाउआमा भननेन्। छेउछाउका गल्लिमा हिँडिरहे पनि भक्तपुर सल्लाघारीको उनको घर धेरै टाढाको बन्यो उनीहरुका लागि।

देवेन्द्रको जस्तै नियति धेरैको बन्यो त्यो समयमा।

‘हामीले जनयुद्ध किन सुरु गर्‍यौँ? जनयुद्ध सुरु गर्दाको देशको अवस्था कस्तो थियो ? र अहिले कस्तो छ ? त्यतिबेला हामीले खोजेको आजको दिन यस्तै थियो त ?’ देवेन्द्रले प्रश्न गरे ।

उनी भन्छन्, ‘केही परिवर्तन त भयो तर हामीले सोचेको जस्तो भएन। त्यत्रो क्षतिबाट आएको परिणाम हेर्दा चित्त बुझाउने ठाउँ छैन।’ देवेन्द्रहरुले जनयुद्ध सुरु गर्दा देशको अवस्था जस्तो थियो अहिले पनि उस्तै छ ।

देवेन्द्र माओवादी किन भए? देवेन्द्रहरुले युद्ध किन लडेका थिए? सायद जवाफ दिन सजिलो छ। तर त्यसको परिणाम चित्त बुझ्दो छैन।

स्वयं देवेन्द्रलाई पनि चित्त बुझाउने ठाउँ छैन। त्यसैले त उनी भन्छन्, ‘म त खुसी छैन। पटक्कै खुसी छैन ।’

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्