सुजित मैनालीको ‘सती’ सार्वजनिक

काठमाडौँ – लेखक सुजित मैनालीको नयाँ अनुसन्धानात्मक पुस्तक ‘सती: इतिहास र मीमांसा’ प्रकाशन भई सार्वजनिक भएको छ। पुस्तकमा लैंगिक भेदभावका कतिपय प्रवृत्तिहरु सतीप्रथाकै धङधङी हुन् भन्ने कुरा उजागर गरिएको छ।

किताब पब्लिसर्सले प्रकाशन गरेको पुस्तकमा सतीप्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरिएको छ। नेपालमा सतीप्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असरहरु लैंगिक भेदभावका अनेक पाटोका रुपमा समाजमा अझै व्याप्त रहेको पुस्तकले निष्कर्ष निकालेको छ।

‘मृतक पतिको नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट तात्कालिक पुरूषप्रधान समाजले कस्तो लाभ दोहन गर्‍यो भनी चर्चा गर्दै यस किताबले महिनावारी बार्ने चलनदेखि बलात्कारसम्मका नारीद्वेषी चलनलाई सतीप्रथाको आलोकमा बुझ्ने प्रयत्न गरेको छ’, यसै साता बजारमा आएको पुस्तकबारे लेखक मैनालीले भने।

नेपालमा लिच्छवि राजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीगमनका अनेक घटना भए। वि.सं. १९७७ मा चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानुनी रुपमा बन्द भयो।

‘समाजशास्त्रका किताब पल्टाउँदै जाँदा महसुस भयो, इतिहास र त्यसको लैंगिक पाटो बुझ्न सकेमात्र समाजको नसनाडी राम्ररी छाम्न सकिने रहेछ’, लेखक मैनाली थप्छन्, ‘खासमा यही अनुभूतिले मलाई किताब लेख्न प्रेरित गर्‍यो।’

पुस्तकमा नेपाल र भारतमा अभ्यस्त सतीप्रथाबारे सात वर्षजति अध्ययन–अनुसन्धान गरेर तयार पारेको यस पुस्तकमा आठवटा अध्याय छन्। त्यसबाहेक ४२ वटा परिशिष्टहरुमा किंवदन्ती, अनुश्रुति र अभिलेखहरुको खँदिला विवरण समेटिएका छन्। त्यसका निम्ति सतीको नामसँग जोडिएका स्थलहरुको स्थलगत अवलोकन गर्नुका साथै थुप्रै अन्तर्वार्ता गरिएको लेखक मैनालीले जानकारी दिए।

प्रकाशित लेख–रचनाबाहेक अप्रकाशित स्रोत, शिलालेख, पत्र, इस्तियार, लिखत आदिको पनि पुस्तक लेखनमा पर्याप्त उपयोग गरिएको छ।

पुस्तकमा सतीप्रथाको उद्भवपछाडिका ऐतिहासिक कारणहरुको राम्रोसँग विवेचना गरिएको प्रकाशक कल्पना ढकालले बताइन्।

सतीप्रथाको मुख्य उद्देश्य पतिव्रता धर्मको महिमा गाएर त्यसकै आवरणमा महिलाको यौन जीवन नियन्त्रित गर्नु थियो भन्ने कुरा पुस्तकले उजागर गरेको उनको भनाइ छ।

लेखक मैनालीको यो दोस्रो पुस्तक हो। यसअघि २०७६ सालमा उनको ‘शिलान्यास : नेपाल निर्माणको नालीबेली’ पुस्तक प्रकाशित भएको थियो।

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्