नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (सेप्टेम्बर १२ देखि १८)

भिडभाड बढे पनि संक्रमण घट्नु सुखद

विश्वमा नोभेल कोरोना भाइरस (वर्तमान कोरोना प्यान्डेमिकको कारक जीवाणु) को उत्पत्ति भएको १ वर्ष ९ महिना बितिसकेको छ। सन् २०१९ को डिसेम्बर महिनामा चीनको हुबेइ प्रान्तको वुहान सहरमा यस जीवाणुको जन्म भएको थियो। त्यसैगरी WHO ले विश्वमा कोरोना प्यान्डेमिकको घोषणा गरेको डेढ वर्ष नाघेको छ । सन् २०२०को मार्च ११का  दिन WHOले विश्वमा कोरोना प्यान्डेमिकको घोषणा गरेको थियो।

नेपाल सरकारको तथ्यांक अनुसार नेपालमा पहिलो पटक कोरोना संक्रमण २०७६ साल माघ ९ गते अर्थात् २०२० जनुअरी २३का दिन चीनबाट फर्केर आएका एक पुरुष विद्यार्थीमा देखापरेको थियो। त्यस्तै नेपालमा कोरोना संक्रमणको दोस्रो केस २०७६ साल चैत्र ४, २०२० मार्च १७ का दिन फ्रान्सफाट कतारको दोहा हुँदै  काठभाडौँ आएकी एक किशोरीमा देखा परेको थियो। यसरी दुईजना नेपालीमा कोरोना संक्रमण देखापरेपछि नेपाल सरकारले २०७६ साल चैत्र १० गते आकस्मिक बैठकद्वारा संक्रामक रोग ऐन अन्तर्गत चैत्र ११ गतेदेखि लकडाउन लागु गर्यो। त्यति बेलासम्म नेपालमा PCR प्रविधिको निकै कमी थियो र त्यति बेलासम्म कोरोना PCR परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्रै गरिन्थ्यो। धेरैभन्दा धेरै PCR प्रविधि र कोरोना परीक्षणको आवश्यकतालाई ध्यानमा राखी नेपाल सरकारले चैत्र १६ गतेदेखि सरकारी र निजीस्तरमा RT-PCR परीक्षण प्रयोगशालाको बिस्तार गर्यो। त्यस्तै चैत्र १२ गते तेस्रो र त्यसपछि अरु थुप्रै कोरोनाका नया संक्रमितहरु देखा पर्दै गए।

त्यस पछिका दिनहरुमा नेपाल सरकारले लागु गरेको लकडाउन र अन्य उपायका बाबजुद कोरोनाका संक्रमितहरु बढ्दै गए। नेपालमा कोरोना प्यान्डेमिकको इतिहासमा २०७७ सालको जेष्ठ अषाढ महिनामा पहिलो लहर आएको थियो जुन बेला  अधिकतम एकै दिन ७०० भन्दा बढी नया संक्रमण देखिएको थियो। तर त्यति बेलासम्म कोरोना मृत्यु भने त्यति धेरै  देखिएको थिएन, मुस्किलले दिनमा १-२ मृत्यु थियो। त्यस पछि कैयौँ प्यान्डेमिक लहरहरु आउने क्रममा पछिल्लो पटक यसै वर्षको वैशाख जेष्ठमा हालसम्मकै सबैभन्दा ठूलो लहर आएको थियो जुन बेला अधिकतम एकै दिन ९००० भन्दा धेरै नयाँ संक्रमण र २४० भन्दा धेरै मृत्यु देखिएको थियो।

प्यान्डेमिककालमा यस्तो किसिमको उताभचढाभ र नया नया लहरहरु आउने र जाने क्रम नेपालमा मात्रै नभई विश्वका सबै जसो महादेश र तिनका धेरै देशहरुमा देखिसकेको छ र देखिने क्रम अझै जारी नै छ। पछिल्लो समय कोरोना बिरुद्धको भ्याक्सिनले ब्यापकता पाइरहेको बेला पनि कोरोनाले विश्वलाई आक्रान्त पर्ने क्रम जारी नै रहेको छ। पछिल्लो समय अमेरिका, बेलायत लगायत विश्वका थुप्रै देशहरुमा कोरोना प्यान्डेमिकको नया नयाँ लहर आउने क्रम चलिरहेको छ।

यी सबै तथ्यहरुले के पुष्टि गर्दछ भने कोरोना प्यान्डेमिकको स्थिति अझै पनि  निश्चित भइसकेको छैन र यसको टुंगो कहिले र कसरी लाग्छ भन्ने कुरा पनि ठोसरुपमा भन्न सकिने अवस्था छैन। यस्तो अवस्थामा अल्पकालीन नीति लिनुभन्दा दीर्घकालीन नीति अपनाएर समाज र सिंगो देशलाई डोर्याउनु नेपाल सरकारको प्रमुख  उत्तरदायित्व हुन आउँछ। संक्रमण कम भएको बेला सबै खुल्ला गरिदिने र संक्रमण बढेको बेला फेरि लकडाउन गरी नागरिकलाई गृहबन्दी बनाउनु कुनै तरिकाले न प्रजातान्त्रिक हुन सक्दछ न त वैज्ञानिक नै।

यसै क्रममा पछिल्लो समय नेपालमा सम्पूर्ण निशेधाज्ञा बन्द भइसकेको छ र विद्यालयहरु पनि खुल्ला गरी पठन पाठनका कुरा भौतिकरुपमा गर्ने सरकारले निर्णय गरिसकेको छ यद्यपि अझै पनि नेपालको हालको कोरोना संक्रमण दर WHOको मापदण्डभन्दा दुई गुणाभन्दा धेरै उच्च रहेको छ। यस्तो अवस्थामा गम्भीरताका साथ् सोच्नु पर्ने कुरा के छ भने विद्यालयमा अध्ययनरत विद्यार्थीहरु १८ वर्षभन्दा मुनिका हुन्छन् जसले हालसम्म भ्याक्सिनको स्वाद चाख्न पाएका छैनन् र भविष्यमा पनि तुरुन्तै पाउनेवाला छ जस्तो लाग्दैन। यस्तो अवस्थामा विद्यालयका विद्यार्थीहरु सबैजनालाई पहिला जस्तै एकै पटक भौतिकरुपमा कक्षा लिएर सबैलाई जोखिममा राख्नुभन्दा कुनै वैज्ञानिक तरिकाले विद्यार्थीहरुलाई वर्गिकरण गरेर कक्षा संचालन गरेमा उत्तम हुने थियो। यस्तो अवस्थामा सबै विद्यार्थीको सुरक्षा सुनिश्चित गर्नु सरकारको मात्रै होइन विद्यालय र अविभाभकहरुको पनि जिम्मेवारी हो। उदाहरणको लागि १२ देखि १८ वर्षका विद्यार्थीहरु जो केही कुरा बुझ्ने हुन्छन् र जसलाई केही अनुसासनमा राख्न पनि सकिन्छ, सम्भवत यो समूहको लागि कोरोना भ्याक्सिन पनि चाँडै विश्व र नेपालमा पनि आउन सक्दछ। यो समूहको लागि कुनै एउटा निश्चित समयमा कक्षा संचालन गरी बाँकी समूहलाई अरुनै कुनै समयमा या तरिकाले कक्षा संचालन गरेमा सबैजनालाई कोरोना जोखिमबाट बचाउन केही सजिलो हुन्थ्यो होला।

पछिल्लो अवस्थामा दक्षिण एसियामा समग्रमा कोरोना प्यान्डेमिकको अवस्था केही नियंत्रिक देखिएता पनि गत फेब्रुअरी महिनाताकाको अति न्यून संक्रमणको बेलाको जस्तो अझै भइसकेको छैन।

चित्र न १ ले दक्षिण एसियाको बिगत १५ दिनको समग्र दैनिक संक्रमण र मृत्युको प्रबृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियामा दैनिक संक्रमण र दैनिक मृत्यु दुवैमा क्रमिक कमी हुँदै आएको  देखिन्छ।

चित्र न. २ ले दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक नयाँ संक्रमणको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा श्रीलंका र बंगलादेशमा दैनिक संक्रमणमा कमी हुँदै  आएको छ भने भारत, नेपाल र पाकिस्तानमा कोरोना सक्रमण स्थिर देखिन्छ। श्रीलंकाको हालको दैनिक संक्रमण अझै उच्च देखिन्छ।

त्यस्तै चिता न.३ ले  दक्षिण एसियाका विभिन्न देशहरुमा पछिल्लो १५ दिनको दैनिक मृत्युको प्रबृत्ति देखाएको छ। चित्रमा देखाइए जस्तै पछिल्लो अवस्थामा दक्षिण एसियाका सबै देशहरुमा दैनिक संक्रमणमा कमी हुँदै आएको छ।

चित्र न. ४ ले दक्षिण एसियाली र अन्य केही देशहरुको पछिल्लो १५ दिनको जोन्स होप्किन्स विश्व विद्यालय (Johns Hopkins University) र आवर ओर्ल्ड इन डाटा (Our World in Data)का अनुसार, साप्ताहिक औसत  संक्रमण दरको प्रबृत्ति देखाएको छ।  चित्रमा देखाइए जस्तै पछिल्लो समय श्रीलंका र नेपालको दैनिक संक्रमण दरमा निकै कमी आएको छ भने अन्य दक्षिण एसियाली देशहरुको दैनिक संक्रमण दर न्यून देखिन्छ। अमेरिकाको संक्रमण दरमा विशेष कमी आएको देखिँदैन।

चित्र न. ५ ले नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालको बिगत दुई महिनाको दैनिक संक्रमण दरको प्रबृत्ति देखाएको छ। बिगत दुई महिनामा दैनिक संक्रमण दर क्रमसः बिस्तारै घट्दै गएको देखिन्छ। पर्वको समय, भिडभाड र क्रमसः हट्दै गएको  लकडाउनका बाबजुद नेपालको संक्रमण दर घट्नु खुशीको कुरा हो। तर कोरोना संक्रमणको बेवास्ता र अबज्ञा गर्नु राम्रो चाहिँ पक्कै होइन।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता सन् सन् २०२१ सेप्टेम्बर १२ देखि १८(बिसं २०७८  भाद्र २७ देखि असोज २) जम्मा ७ दिनको विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।  यस लेखमा उधृत गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MOHP), जोन्स होप्किन्स विश्वविद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data), सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर (SAARC Disaster Management Center, SDMC) आदि। यस लेखको उद्ध्यश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की विश्व र नेपालको  प्यान्डेमिकको सहि चित्रलाई पाठकवर्ग समक्ष पुर्याउनु हो।

गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि  उताभचढ़ाभ हुने क्रम जारी रह्यो। निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौँ।

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने  नयाँ संक्रमितहरुको संख्या हो। सन् २०२१ सेप्टेम्बर १२ देखि १८(बिसं २०७८  भाद्र २७ देखि असोज २) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण, नयाँ संक्रमण र मृत्युको संख्या चित्र न. ६ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ताको सात दिन, असोज २ गते शनिबारसम्म, देशभरी जम्मा ७५८५   जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ७८३९१० पुगेको छ। साप्ताहिक नया संक्रमण दुई हप्ताअघि ८०३० थियो। त्यस्तै, साप्ताहिक मृत्यु गत हप्ता ९२ रह्यो जुन दुई हप्ताअघि ११८ थियो। गतहप्ता जम्मा ७१६१३ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि ६१२४१ थियो।

गतहप्ता काठमाडौँ उपत्यकाको दैनिक संक्रमण समग्र नेपालको तुलनामा औसतमा ३५.५७% जति देखिएको छ जुन दुई हप्ताअघि ४१.३६% थियो। पछिल्लो समय कोरोना संक्रमण उपत्यका बाहिर कास्की, झापा, रुपन्देही आदि ठाउँहरुमा बढेको देखिन्छ।

दैनिक संक्रमण (पोजिटिभिटी) दर (Positivity Rate)                                       

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी (संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएका मध्ये कतिजनामा संक्रमण  पोजिटिभ देखियो भन्ने देखाउँदछ।

चित्र न. ७ ले  नेपालको गतहप्ताको दैनिक संक्रमण दर देखाएको छ जुन विस्तारै केही घट्दै गएको देखिन्छ। गतहप्ता पोजिटिभिटी दर न्यूनतम ९.१७% ११.२४% देखि अधिकतम १२.५३% १८.८८% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर १०.६६% रह्यो जुन दुई हप्ताअघि १३.४४% १५.६% थियो। नेपालको कोरोना संक्रमण दर बिगत १ महिनाभन्दा लामो समयदेखि केही कम हुँदै गएको छ।

संक्षेपमा, पछिल्लो समय नेपालमा दैनिक संक्रमण, मृत्यु र संक्रमण दरमा कमी आइरहेको देखिन्छ जुन सुखद कुरा हो। त्यस्तै सिंगो देशको तुलनामा काठमाडौँ उपत्यकाको कोरोना संक्रमण अनुपात पनि घट्दै गएको छ। पर्व र भिडभाडको समयको बाबजुद काठमाडौँ उपत्यकाको कोरोना संक्रमणमा कमी आउनु पनि सुखद समाचार हो। त्यस्तै दक्षिण एसियामा पनि समग्ररुपमा दैनिक संक्रमण र मृत्युमा कमी आएको छ।

सरकारी नियम जेसुकै भए पनि नागरिकले आफ्नो तर्फबाट कडाईका साथ होसियारी तथा साबधानीका उपाय अपनाउनु पर्ने देखिन्छ। आफू बच्ने उपाय मात्रै गरे पनि त्यसले अरुलाई पनि बचाउन सकिन्छ। कोरोना प्यान्डेमिक समस्त मानब जतिको लागि एक युद्ध हो। अलि दु:ख र कष्ट सहेर भए पनि सुनौलो भविष्यको लागि यो युद्ध लडेर जित्नै पर्छ। यसको अरु कुनै विकल्प नै छैन।

प्यान्डेमिकको यस्तो नाजुक र अनिश्चित अवस्थामा अनुशासित जीवनशैली नै एक मात्र यस्तो हथियार हो जसले विश्वलाई कोरोनामुक्त बनाउन सक्दछ। तसर्थ तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसाथ गर्नु पर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भिडभाड नगर्ने आदि सावधानीका कुराहरु कडाईका साथ अपनाउनु पर्ने देखिन्छ। पछिल्लो समय अन्य देशहरुमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिँदैन।

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्