साग बेचेर हिँड्ने भरतमणिको कमेडी च्याम्पियन २ को विजेतासम्मको यात्रा

भरतमणिलाई जिताऊ अभियानमा सहभागी भएका नेपाली कांग्रेसका युवा नेता गगन थापाले खुलमखुल्ला भनका छन्, ‘यो पटकको इभेन्ट, भरतमणिले जित्दे हुन्थ्यो भन्ने चाहन्छु।’ थापाको चाहना शनिबार राति पूरा भयो । कमेडी च्याम्पियन सिजन २ को मञ्चमा भरतमणि पौडलले विजयीको उपाधि जिते।

उपाधि उचालेका पौडेलको पछिल्लो जीवनलाई एकपल्ट सरसर्ती हेरौँ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका ७ मा जन्मिएका भरतमणि पौडेल तीन सन्तानमध्ये जेठा थिए। उनकी आमा देवी पौडेलका अनुसार उनी जन्मँदै सानो जन्मेका थिए, पछि पनि धेरै बिरामी भइरहन्थे। पौडेलकी बहिनी कल्पनाले उनलाई ‘लुरे’ थिए भन्छिन्।

ज्यान सानो भएपनि उनको मन चञ्चले थियो। उनि आफ्नो संगतमा पर्न आउने धेरैको क्यारिकेचर गर्थे। आमा देवीका अनुसार उनले सानैबाट यस्तो व्यवहार समातेका थिए।

पौडेलले उनको कलाकारिताको यात्रा ताप्लेजुङको सानो गाउँबाट भएको बताएका छन्। ‘मेरो घरको वरपर बस्ने तल्लो माथ्लो घरका मानिसहरुको म क्यारिकेचर गर्थेँ। नक्कल गरेर सुनाउँद गलल सबैजना हाँस्थे। त्यसपछि म विद्यालयका साथीहरुलाई यो कुरा सुनाउन थालेँ, साथीले अरुलाई सुनाइदिन थाल्नुभयो।’

यस्तो हुँदाहुँदै उनी आफ्नो सर्कलमा परिचित भए। त्यसपछि उनको गाउँमा हुने सभा कार्यक्रममा अनिवार्य सहभागिता हुन थाल्यो। गाउँमा समारोह आयोजना गर्ने समूहका राजन विश्वकर्मा अवसरको लागि र प्रस्तुतिको लागि भरतमणिले गर्ने मेहनत सम्झन्छन् ।

आफूमा भएको कला हाँस्यव्यंग्य हो भन्ने उनलाई कक्षा ८ पढ्दासम्म थाहा थिएन। कञ्चन एकेडेमी भर्ना भएपछि उनले यही चिजलाई निरन्तरता दिन सकियो भने भविष्यमा कलाकार बन्न सकिन्छ भन्ने उनलाई चेत भयो।

त्यसपछि उनले सामुदायिक रेडियो तमोर १०२ मा कार्यक्रम प्रस्तोताका रुपमा करियर शुरु गरे। यो कार्यक्रममा उनले क्यारिकेचर, जोक भन्ने गर्थे। उनले त्यहाँ ७ वर्ष काम गरे। त्यसपछि उनलाई थुप्रै स्टेज कार्यक्रममा सहभागी हुन थाले।

‘स्टेजमा काम गर्दागर्दै मलाई ठूलो पर्दाको खाँचो भएको महशुस भयो। त्यसपछि म काठमाडौँ आएँ,’ भरतमणिले घर भ्रमण गरेको भिडियोमा भनेका छन्।

उनले रेडियोबाट उक्त ठाउँमा धेरै लोकप्रियता कमाइसकेका थिए। ताप्लेजुङको फुङ्लिङ बजारमा साग बेचेर हिँडेका पौडेललाई अहिले कलाकार बन्न संघर्षरत युवा भनेर चिनिन पाउँदा खुसी लाग्छ।

अनवरत मेहनत र लगावले उनलाई देश तथा विदेशमा प्रस्तुति दिने मौका मिलायो। सँगसँगै दर्शकको मनमा ठूलो ठाउँ पनि। त्यसैले त ताप्लेजुङ मात्र हैन सबै नेपाल अनि विदेशमा भएका नागरिक नै भरतमणिलाई जिताउन उर्लिए। भरतले पढेको जीपी कोइराला मेमोरियल कलेजका विद्यार्थी पौडेललाई जिताउन लागि परे।

यसबाहेक नेकपा एमालेका सचिव योगेश भट्टराईले उनलाई आर्थिक सहयोग गरे। उनलाई नेपाल पत्रकार महासंघ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका उनको विद्यालय, ताप्लेजुङका विभिन्न संघसंस्थाहरु नै लागि परे।

उनलाई जिताउन यतिका शक्ति लागि पर्नुमा उनको मात्र हात रहेको छ। भरतका पिता शिव प्रसाद पौडेल कृषि गरेर जीविको चलाउने व्यक्ति हुन्। उनको ताप्लेजुङमा ‘पौडेल कफी हाउस’ रहेको छ।

कमेडी च्याम्पियन सिजन २ को उपाधि सँगै भरतमणिले २५ लाख रुपैयाँ, ड्याट्शनको कार र अन्य धेरै गिफ्ट ह्याम्पर पनि जितेका छन्। दर्शकको भोटको आधारमा भएको निर्णयमा सिक्किमका बिक्की अग्रवाल दोस्रो र गोरखाका सन्तोष थापा तेस्रो भएका थिए।

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्