नेता सुध्रिन नसक्नुमा हामी जनता नै दोषी

राजनीति सम्भावनाको खेल हो, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन यस्तै–यस्तै (जार्गन वर्ड र टर्मिनोलोजी) को वरिपरी घुमेको नेपालको राजनीति अझै बढी रहस्यमय बन्दै गएको छ। देशमा कानुन छ, विधि छ, विधान छ, पक्रिया हुन्छ र पद्धति हुन्छ सबै कुरा सिस्टममा हुन्छ भन्ने विश्वास नै गर्न सक्ने अवस्था छैन।

राजनीतिक नेताको व्यवहार र कार्यशैलीका कारण पनि आमनागरिकमा यो विश्वास घट्दै गएको हो। सानो कामदेखि ठुल्ठूला ठेक्काको काम राजनीतिक नेताको भनसुनबिना सम्भव छैन भन्ने प्रमाण कसरी पेस गरौँ धेरै भुक्तभोगी नै छौँ।

नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र जुन व्यवस्थामा पनि नेपालको राजनीति माथि उल्लेख गरिएका शब्दजालको वरिपरि घुमिरहेको छ। तत्कालीन माओवादीले संसदीय अभ्यासलाई खसीको टाउको देखाएर अरू नै मासु बेच्ने पसलजस्तो संज्ञा दिएको थियो।

आफ्नो सशस्त्र विद्रोहका बेला होस् वा शान्ति–सम्झौतापछिको मूलधारको राजनीतिमा माओवादी पनि यही राजनीतिको चौघेराबाट बाहिर निस्कन सकेन। बरु उसको हेबी वेटका कारण अरू दलभन्दा बढी दलदलमा फस्यो भन्ने टिप्पणी तपाईं सबैले सुनेकै कुरा हो।

छोटो समयमा फुटको अवस्थामा पुग्ने नेपाली राजनीतिको परम्परागत अभ्यास अहिले पनि छ। दलहरू पछिल्लो समय दल विभाजनको २० प्रतिशत वाला विधेयकको भुमरीमा परिरहेका छन्। सरकार विस्तार लामो समयसम्म पनि हुन नसक्नुको कारण अहिले त्यही विधेयक बनेको राजनीति वृत्तमा चर्चा चलिरहेको छ। कांग्रेसको नेतृत्वमा रहेको अहिलेको सरकारमा मन्त्रीका आकांक्षी धेरै भएपछि कांग्रेस आफैँ मन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न सकिरहेको छैन।

तर, यसमा पनि राजनीति सुरु भएको कांग्रेसको आन्तरिक बुझाइ छ। गगन थापा, विश्वप्रकाश शर्मालगायत युवा नेताले महाधिवेशनमा सभापतिको दाबी गरिरहेका प्रधानमन्त्री देउवाले पार्टीभित्र रहेका आफ्ना विरोधीलाई मन्त्री, राजदूत, सरकारी नियुक्तिलगायतमा संलग्न गराएर पुनः सभापति हुने दाउ खेलेको भन्ने गरेका छन्। पार्टीभित्र आलोचनाको सुरुवात भए पनि देउवाले यसलाई त्यति ध्यान नदिएको देखिन्छ।

नजिकिएको महाधिवेशन, निर्वाचन र सरकारलाई पूर्णता दिनुपर्ने चुनौती देउवाले सामना गरिरहेका छन्। यता, माओवादीको अवस्था पनि उस्तै छ। राजनीतिमाथि राजनीति भइरहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहालको भनाइ र दौडधुपले प्रस्टै हुन्छ। त्यसो त ०७४ सालमा भएको निर्वाचनमा चुनावी तालमेल गरेर दल एकता गरेका तत्कालीन नेकपा एमाले र माओवादी अन्ततः विवादको चरमोत्कर्षमा पुगेर विभाजन नै भए।

त्यो पनि सर्वोच्चले निर्णय गरिदिनुपर्ने अवस्था आयो। सर्वोच्चको निर्णयले विवादको उत्कर्षमा पुगेका दललाई विभाजनको बाटो पहिल्याउन सजिलो त भयो तर त्यसपछिको बेग थेग्न भने असहज भइरहेको छ। त्यही फुटको बेगले अहिले नेकपा एमाले विभाजन भइसकेको छ।

वरिष्ठ नेता माधवकुमार नेपाल अहिले एकीकृत समाजवादी पार्टी दर्ता गरेर नयाँ पार्टी कार्यालय स्थापना गरी छुट्टै दलको रूपमा संगठन संरचना निर्माण गरी सरकारमा जाने अन्तिम तयारीमा छन्। यता, विभिन्न दलबीचको एकताबाट बनेको जसपा फेरि विभाजन भएर महन्थ ठाकुर र राजेन्द्र महतो एकातर्फ छन्। उपेन्द्र यादवको समूह अर्कोतर्फ रहेर सरकारमा सहभागी हुँदै छ। दलबीचको अन्तद्र्वन्द्व जति चरम भइरहेको छ यसको प्रभाव र असर नेपाली जनताको जीवन र दैनिकीसँग जोडिएको छ। नेताहरूले राजनीतिमाथि पनि राजनीति गर्दा नेपालमा प्रजातन्त्र र लोकतन्त्रको लामो समयसम्म स्थायित्व हुन सकेको छैन। दल विभाजनको वैचारिक, कार्यक्रमिक, सैद्धान्तिकभन्दा पनि व्यक्तिगत कारण हुने गरेका छन्। यसले पार्टी जीवनमा मात्र हैन, नेताहरूको व्यक्तिगत जीवनमा समेत सकारात्मक प्रभाव पर्ने देखिँदैन।

छोटो समयमा फुटको अवस्थामा पुग्ने नेपाली राजनीतिको परम्परागत अभ्यास अहिले पनि छ। दलहरू पछिल्लो समय दल विभाजनको २० प्रतिशत वाला विधेयकको भुमरीमा परिरहेका छन्। सरकार विस्तार लामो समयसम्म पनि हुन नसक्नुको कारण अहिले त्यही विधेयक बनेको राजनीति वृत्तमा चर्चा चलिरहेको छ। कांग्रेसको नेतृत्वमा रहेको अहिलेको सरकारमा मन्त्रीका आकांक्षी धेरै भएपछि कांग्रेस आफैँ मन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न सकिरहेको छैन।

राजनीतिक दल र नेताको लामो समयको व्यवहार र अभ्यासबाट आजित बनेका जनताले वैकल्पिक राजनीतिक धारको आवश्यकता महसुस गरेका छन्। यसै बेला नेपालमा एउटा वैकल्पिक शक्तिका रूपमा नयाँ पार्टी सुरु भयो। विवेकशील साझा। विवेकशील साझा पार्टीको नेतृत्व लिएका पूर्व पत्रकार रवीन्द्र मिश्रमाथि पनि विभिन्न असन्तुष्टि जनाउँदै यो पार्टी विभाजन भयो। जसले वैकल्पिक राजनीतिक पार्टीको धार समाउन नसकेको आरोप खेपिरहेका छन्। फुटेपछि फेरि जुटेको विवेकशील साझा पार्टी फेरि फुटको अन्तिम संघारमा छ।

राजनीतिमा सहयात्री बदलिन सक्छन्। नेपालका राजनीतिक दलमा कुनै समयका चर्चित नेता अहिले गुमनामजस्तै छन्। यस्तै साझा र विवेकशील पार्टीमा तत्कालीन समयमा संलग्न भएका बौद्धिक र सामाजिक रूपमा प्रतिष्ठित विभिन्न पेसा व्यवसायबाट राजनीतिमा आएकाहरू अहिले मूलधारको राजनीतिबाट बाहिरिसकेका छन्। उनीहरूको राजनीतिमा समय अत्यन्तै छोटो हुन पुग्यो।

राजनीति खेल हो राजनीति गर्न खेलाडी बन्न सक्नुपर्छ भन्ने उदाहरण बौद्धिक र सामाजिक प्रतिष्ठित व्यक्तिको बहिर्गमनले पनि प्रस्ट पारेको छ। राजनीति सामाजिक न्याय, विकास, समृद्धि र सम्पन्नताको सुरुवातका लागि गर्नुपर्ने अवस्थमा व्यक्तिगत इगो, कुण्ठा, स्वार्थ र व्यक्तिगत लाभका लागि गर्ने परिपाटीको विकास भएको छ। यसले हामीलाई ७ दशक एउटै अवस्थाबाट माथि उठ्न दिएको छैन। यही परम्परा चलिरहने हो भने भोलि पनि हाम्रा दिन र नियति यस्तै भइरहनेछन्।

कमजोरी कसको ?

गाउँदेखि केन्द्रसम्मका नेता सुध्रन नसक्नुको कारण हामी पनि हौँ। हामी आफ्नो आस्था भएको दलको नेतालाई अन्धभक्त भएर स्वीकार गरिरहेका छौं। जसले हामीलाई गलतलाई गलत र सहीलाई सही देख्ने सुविधा छैन। यदि, हामीले गलतलाई गलत र सहीलाई सही भन्ने आँट, हिम्मत र अठोट गर्न सक्छौं भने नेता र नेतृत्व बदलिन बाध्य हुनेछन्। यदि, त्यसो गर्न सकिएन भने हिजो उनीहरूले तपाईं हामीमाथि गरिरहेको राजनीति फेरि पनि गरिरहनेछन्।

हामी चोक, चौतारो, चिया पसलका बहसमा राजनीति, नेता र नेतृत्व सही नभएको भन्छौं। तर विकल्पबारे बहस गर्न सक्दैनौँ। यसको धेरै कारण छैन यसमा हामी कुनै दलको निकट वा सदस्य भइसकेका हुन्छौं। आफूनिकट नेता र दलबारे आलोचना हुँदा दुःख मनाई गर्ने अरूबारे आलोचना हुँदा खुसी व्यक्त गर्ने परिपाटी अन्त्य गरौं। त्यसको सामाजिक, राजनीतिक, देश तथा अन्तरदेशमा पर्ने प्रभाव, जनताको जीवनमा पर्ने प्रभावको आकलन गरेर विरोध र समर्थन गर्न सिकौं। राजनीतिक संस्कार भन्ने तर आफ्नाको समर्थन र जयजयकार अरुको विरोध राजनीतिक संस्कार हुनै सक्दैन।

संस्कारसहितको राजनीतिमा स्वविवेक हुनुपर्छ ताकि कुनै वाद, सिद्धान्त वा लाभका कारण सही ठानिरहियोस्। जब हामी प्रत्येक व्यक्ति जिम्मेवार भइन्छ तब राजनीतिक सुधार हुनेछ। समाज सुधार हुनेछ। संस्कार सुधार हुनेछ। सामाजिक न्याय र समानताको सुधार हुनेछ। देशको विकासले गति लिनेछ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देशको पहिचान र परिचय उचो हुँदै जानेछ। आउनुहोस् एउटा रूपान्तरणकारी नागरिक, समाज, देश र सकारात्मक संस्कारको सुरुवात गरौं।

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्