संविधान दिवस पारेर विभूषण, मानपदवी दिने र केही मिनाहा गर्ने चलनले निरन्तरता पाउनु अस्वाभाविक हैन। राज्य र समाजका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका या पुर्‍याउने प्रयास गरेका व्यक्तिहरुलाई राज्यका तर्फबाट सम्मान गरिनु स्वागतयोग्य परम्परा र अभ्यास मानिनुपर्छ। तर राज्यको ढुकुटीमाथि बोझ पारेर अंशबन्डाका आधारमा विविध दलको नेताहरुलाई जनताले कुरीकुरी गर्ने गरी सम्मानित गर्नु भ्रष्टाचारसँगै राज्यविरुद्धको अपराध हो। किनकि यसले सत्पात्रहरुलाई अवमूल्यन गर्छ र जनता बिच्किन्छन्।

विभूषण पाउने सबै ९०३ जना अयोग्य थिए भन्न मिल्दैन। तर, सरकारको अपारदर्शिता र वस्तुनिष्ठ मूल्यांकनको अभावमा कतिपय विभूषितहरुले नै आफूलाई दिएको सम्मान फिर्ता गरेका छन्। केही व्यक्तिहरुको व्यक्तित्वलाई सरकारले मरणोपरान्त विभूषित गर्दा उनीहरुको हैसियत बढेको मान्ने कि घटेको? विभूषणले घेरेको सीमाभन्दा माथिका कृष्णप्रसाद भट्टराईको नीति र मार्गलाई तीलाञ्जली दिने पार्टीको सरकारले उनलाई सम्मान दिनुको अर्थ के ? ‘नेपाल रत्न’ बाट विभूषित मदन भण्डारीको हैसियत सम्मान दिइएपछि कति बढ्यो होला?

राज्यको ढुकुटीको बाँडफाँटमार्फत विभिन्न पक्षलाई रिझाएर न सत्ताले निरन्तरता पाउँछ, न विकास हुन्छ, न शक्ति र राजनीतिमा स्थायित्व नै हासिल हुन्छ।

त्यत्तिमात्र हैन, केपी ओलीले त आफूलाई उपचार गर्ने विदेशी चिकित्सकहरुलाई समेत सम्मानित गरेका थिए विभूषण मार्फत। अर्थात राज्यको ढुकुटी र उसका नाममा दिइने सम्मानको दुरुपयोगको कुसंस्कारले निरन्तरता पाउनुमा सबै मुख्य दलका नेताहरु दोषी मात्र हैनन्, अपराधी पनि हुन्।

राजनीतिमा हिंसा र हत्याको प्रयोगको औचित्यलाई नेपालको यो संविधानले स्वीकारेको छ। तर, नेपाली कांग्रेसको सरकारले दुर्गानन्द झा, अरविन्द ठाकुर र भीमनारायण श्रेष्ठलाई सामूहिक रुपमा सम्मान गर्दा आजको व्यवस्थाको परिवर्तन चाहनेले राष्ट्राध्यक्ष र प्रधानमन्त्रीको ज्यानलाई निशाना बनाए या त्यस्तो प्रयास गरे भने यो सरकार, प्रतिपक्ष तथा संविधानभित्रका अन्य दलले कसरी प्रतिक्रिया देलान्?

वास्तवमा राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं यो विषयमा संवेदनशील हुनु आवश्यक थियो। राज्यको ढुकुटीको बाँडफाँटमार्फत विभिन्न पक्षलाई रिझाएर न सत्ताले निरन्तरता पाउँछ, न विकास हुन्छ, न शक्ति र राजनीतिमा स्थायित्व नै हासिल हुन्छ। कुनै संविधान दिवस राज्य ढुकुटी दोहनबाट सम्मानित र दीर्घकालीन बन्न सक्तैन।

असोज ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्