२८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

लन्डन – तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन २८ बुँदे लन्डन घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ।

‘महामारी युगमा सम्पूर्ण स्वास्थ्य’ मूल नारा रहेको सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सीप, अनुभव एवं सम्पर्क सञ्जाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान गरेको छ।

सम्मेलनले एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अस्ट्रेलियामा गर्ने निर्णयसमेत गरेको छ।

‘हामी, स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरन्तरताको लागि अमूल्य निधि भएको र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौं। नेपालीहरूलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनुहुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारहरूको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिबद्धता जाहेर गर्दछौं’, घोषणापत्रमा भनिएको छ।

समापन समारोहमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा बद्री केसी, महासचिव डा हेमराज शर्मा, दक्षिण कोरियाका डा देवी बस्नेतलगायतले सम्मेलन कोभिड १९ महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए।

शुक्रबारदेखि विभिन्न सत्रहरु सञ्चालन गरिएको र शनिबार लन्डनस्थित नेपाली दूतावासमा औपचारिक रुपमा सुरु भएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएको थियो। त्यस्तै ५० भन्दा बढी कार्यशाला सञ्चालन गरिएका थिए।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्यसम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए।

उनले महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीनदिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए।
सम्मेलनको बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्त रुपमा उद्घाटन गरेका थिए।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्