उपल्लो मुस्ताङमा सञ्चार सहज   

मुस्ताङस्थित मुक्तिनाथ मन्दिर। फाइल तस्बिर

म्याग्दी – मोबाइल फोनमा कुराकानी गर्न टावर टिप्ने डाँडामा चढ्नुपर्ने र इन्टरनेट चलाउन सदरमुकाम जोमसोम झर्नुपर्ने उपल्लो मुस्ताङवासीको बाध्यता हटेको छ।

घर, गोठ, मेलापात, कार्यालय जहाँ जाँदा पनि साथमा रहेको मोबाइलमा कुराकानी गर्नमात्र नभएर उच्च गतिको इन्टरनेट चलाउन पाएपछि बारागुङ, मुक्तिक्षेत्र, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई सहज भएको छ। देश, विदेश र वल्लोपल्लो गाउँमा अत्यावश्यक सूचना आदानप्रदान गर्नदेखि सहर बजारका कलेजमा भर्ना भएका विद्यार्थीले कोरोना महामारीमा घरमै बसेर अनलाइनबाट पढ्न पाएकाे चराङवासी घम्जुघुटी गुरुङले बताए।

‘सञ्चार सुविधाको विस्तारसँगै भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दाको जीवनशैलीमा परिवर्तन आएको छ’, उनले भने, ‘कोठाभित्रै बसेर सूचना आदानप्रदान गर्न पाएका छौँ। सञ्चार नहुँदा धेरै सास्ती भएको थियो।’ विकास निर्माणमा सहजीकरण गर्न, सार्वजनिक सेवा प्रवाह, भेडाच्याङ्ग्रा, स्याउलगायत कृषिजन्य वस्तुको बजारीकरणमा समेत सहयोग पुगेको लोमान्थाङका टासी गुरुङले जानकारी दिए।

‘धार्मिक र पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ’, उनले भने, ‘मोबाइल सुविधा विस्तारसँगै जीवनशैलीमा नसोचेको परिवर्तन ल्याएको छ।’

सरकारी स्वामित्वको नेपाल टेलिकमले थासाङ, घरपझोङ र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा तारजडित टेलिफोन, फाइबरबाट इन्टरनेट विस्तार गरेको छ। मुक्तिनाथ, दामोदरकुण्डदेखि चीनको सिमाना कोरला नाकासम्म बिटिएस टावरमा थ्रीजी सञ्चालन गरेको टेलिकमको बागलुङ शाखाका वरिष्ठ इञ्जिनियर केशव शर्माले जानकारी दिए।

‘मुक्तिनाथमा फाइबर इन्टरनेट विस्तार भएको छ’, उनले भने, ‘चार हजार ६०० मिटर उचाइको कोरला नाकाको बिटिएस टावरमा पनि थ्रीजी चलाएका छौँ ।’ छरिएका र पातलो बस्ती भएको मुस्ताङका ठाउँमा मोबाइल र थ्रीजी इन्टरनेट विस्तार गर्न २० बिटिएस टावर राखेको टेलिकमका मुस्ताङ शाखा प्रमुख सुमनराज श्रेष्ठले जानकारी दिए।

धार्मिकस्थल दामोदरकुण्डमा जाने दर्शनार्थी र स्थानीयवासीलाई लक्षित गरेर पछिल्लो पटक लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घिलिङ लोदा र नाङ्लियाको बिटिएस टावरको स्तरोन्नति गरिएको छ। तीव्र गतिमा चल्ने हावाहुरी, हिमपात र चिसोका कारण सञ्चार सेवालाई प्रभावित हुन नदिन स्थानीय तहले सामग्री राख्ने घर निर्माण र टावरसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए।

पोखरा–बागलुङ, बेनी–जोमसोम–कोरला सडक निर्माणका क्रममा फाइबरमा क्षति हुने र विद्युत् आपूर्तिमा हुने अनियमितता मुस्ताङको सञ्चार सुविधालाई नियमित र गुणस्तरीय बनाउन चुनौती देखिएको छ। विसं २०७४/०७५ सम्म मुस्ताङमा सीमित कल सुविधामात्र थियो। हाल अधिकांश भू–भागमा माइक्रोवेभ रेडियो लिङ्कमार्फत अत्याधुनिक प्रविधिको सेवा प्रवाह गरिरहेको छ।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्