ओकस सुरक्षा सम्झौता

फ्रान्सेली रक्षामन्त्रीले रद्द गरिन् बेलायती समकक्षीसँगको वार्ता

ओकस सुरक्षा सम्झौताका कारण रुष्ट रहेको फ्रान्सकी रक्षामन्त्रीले बेलायती समकक्षीसँगको वार्ता रद्द गरेकी छन्।

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकस भएसँगै फ्रान्स आक्रोशित बनेको छ। सम्झौताअनुसार अमेरिका र बेलायतले अस्ट्रेलियालाई परमाणु क्षमतायुक्त सबमरिन बनाउनका लागि सहयोग गर्ने छन्।

घटनाक्रमहरु तीव्र गतिमा विकास हुने क्रममा फ्रान्सकी रक्षामन्त्री फ्लोरेन्स पार्लीले बेलायती समकक्षी बेन वालससँग लण्डनमा यो हप्ता हुने तय भएको वार्ता रद्द गरेकी हुन्।

फ्रान्सका लागि बेलायती पूर्वराजदूत लर्ड रिकेट्सले दुईदिने वार्ता तत्कालका लागि रोकिएको र पछि हुने बताएका छन्।

फ्रान्सले आफूसँग ठेक्का सम्झौता भएको अवस्थामा ढाँटेर सुरक्षा सम्झौता गरिएको बताएको छ। अस्ट्रेलियन नौसेनाका लागि १२ वटा सबमरिन बनाउनेसम्बन्धी ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का सन् २०१६ मा फ्रान्सले पाएको थियो। फ्रान्सले विचार विमर्शका लागि भन्दै अस्ट्रेलिया र अमेरिकामा रहेका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ।

चिनियाँ सबमरिन

चीनसँग सामना गर्नका लागि अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौता ओकसको घोषणा गरेका हुन्। विकसित सुरक्षा प्रविधि एकअर्कामा साझा गर्नका लागि तीन देशले सम्झौता गरेको जनाएका थिए। तर सो सम्झौता आफ्नो हितमा नरहेको देखेपछि फ्रान्स रुष्ट बनेको हो।

चीनको बढ्दो शक्ति तथा इन्डो–प्यासिफिक क्षेत्रमा उसको बढ्दो सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित छन् र सोही चिन्ताको परिणामस्वरुप सहकार्य सम्झौता भएको हो।

गएको बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले संयुक्त वक्तव्य जारी गरेर नयाँ सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकस घोषणा गरेका थिए।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्