निपाह भाइरस संक्रमणको जोखिममा नेपाल, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ – निपाह भाइरसको प्रकोप सन् १९९९ मा पहिलोपटक मलेसियामा देखिएको थियो। निपाह नाम मलेसिया उक्त समयमा बंगुर कृषकहरुबाट फैलिएको थियो। उक्त समयमा संक्रमित भएका व्यक्तिहरुलाई आइसोलेसनमा राखिएको थियो। सोहीमध्येका एकजनाले संक्रमणकै कारण ज्यान गुमाएका थिए।

पहिलो देखिएका यो भाइरस घर पालुवा बंगुरमा देखापरेको थियो। जुन समयमा करिब तीन सय मानिस संक्रमित भएसँगै एक सयभन्दा बढीको मृत्यु भएको अध्ययन अनुसन्धानमा उल्लेख गरिएको छ। सोही समयमा संक्रमणको फैलावट रोक्नका लागि करिब एक लाख बंगुर मारिएको थियो।

त्यसयता मलेसियामा यो भाइरसको प्रकोप नदेखिए पनि भारत र बंगलादेशमा भने देखिँदै आएको छ। सन् २००१ देखि २०११ सम्म बंगलादेशमा देखिएको निपाह भाइरस पछिल्लो समय भारतको बंगाल र केरलामा देखिएको छ।

अहिले निपाह भाइरसको संक्रमण भारतको केरलामा फैलिँदै गएको छ। संक्रमण बढ्दै जाँदा केरलामा मृत्युदर पनि बढ्न थालेको छ।

खुला सिमानाका कारण भारतमा निपाह भाइरसको संक्रमण बढ्दै गर्दा यसको जोखिम नेपालमा पनि उच्च रहेको विज्ञहरुले बताएका छन्। यो भाइरसको संक्रमण नेपालमा पनि फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सर्तकता अपनाउन आग्रहसमेत गरेको छ।

हालसम्म निपाह भाइरस नेपालमा पुष्टि भएको छैन। छिमेकी राष्ट्रमा पटक–पटक देखिने गरेको यो भाइरसको जोखिम सधैँ उच्च रहने गरेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

‘अहिले नै नेपालमा यो भाइरसको संक्रमण देखिइसकेको अवस्था छैन। तर जोखिमका हिसाबले हामी उच्च जोखिममा छौँ। सम्भावना धेरै छ’, उनले भने, ‘नेपालसँग सिमाना जोडिएको पश्चिम बंगालमा यो भाइरसको संक्रमण देखिन थालेपछि हामीले निगरानी, परीक्षणलगायत अरु पाटोको तयारीमा केन्द्रित हुन पर्छ भनेर सुसूचित गर्ने, सूचना सम्प्रेसन गर्ने काममा लागिरहेका छौँ।’

उनका अनुसार यो भाइरसका लक्षण अन्य संक्रामक रोगहरुसँग मिल्दाजुल्दा भएका कारण यसको पहिचानमा समस्या देखिन सक्छ। डा. अधिकारीले निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग भएको बताए।

यो भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरामा पाइन्छ। चमेरोबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने यो भाइरस निकै नै घातक मानिने उनले बताए। उनले भने, ‘संक्रमित चमेरोबाट बंगुर, गाई, गोरु जस्ता जनावर हुँदै संक्रमित पशु र फलफूलको सम्पर्कमा आएका मानिसमा यो रोग लाग्ने सम्भावना उच्च रहन्छ। त्यसैले सम्भावित संक्रमितको सम्पर्कमा आउँदा एकदमै ध्यान पुर्‍याउनु पर्छ। संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएको खण्डमा साबधानी अपनाउन आवश्यक हुन्छ।’

फ्रुट ब्याट प्रजातिको चमेरोले फलफूल तथा तरकारी खाने भएका करण यसको उक्त चमेरोमा भाइरस भएको खण्डमा संक्रमण चाँडै फैलिने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउँछन्। ‘चमेरोले तरकारी तथा फलफूलहरु खाँदा र्‍याल लागेको हुन्छ। त्यही कुरा मानिसले सावधानी नअपनाएर प्रयोग गरेमा संक्रमित हुने सम्भावना एकदम धेरै हुन्छ’, उनले भने।

नेपालका विभिन्न ठाउँहरुमा फ्रुट ब्याट प्रजातिको चमेराको बासस्थान भएको पाइएको छ। तर नेपालमा पाइने यो प्रजातिको चमेरामा निपाह भाइरस छ या छैन भन्नेबारे कुनै पनि पुष्टि भने भइनसकेको विज्ञहरुले बताएका छन्।

उसो त मलेसिया निपाह भाइरसको संक्रमण बंगुरपालक कृषकहरुबाट फैलिएको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएका छन्। नेपालमा पनि पछिल्लो समय बंगुरपालन फस्टाउँदै गएको छ। चमेराको बासस्थान अनि लोकप्रिय बन्दै गएको बंगुरपालनले गर्दा यो भाइरसको जोखिममा नेपाल पर्छ भन्दा खासै फरक नपर्ने विज्ञहरुले बताएका छन्। जसले गर्दा नेपालमा यो भाइरस छ या छैन भन्नेबारे अध्ययन तथा अनुसन्धान हुन जरुरी देखिन्छ।

नेपलामा हालसम्म कुनै पनि जनावर तथा मानिसमा निपाह भाइरसको संक्रमण पुष्टि भने भइसकेको छैन। पछिल्लो केही वर्षयता बंगलादेश र भारतको देखिएको संक्रमणलाई हेर्ने हो भने मानिसबाट मानिसमा धेरै सर्ने गरेको पाइएको डा. पुन बताउँछन्। उनले भने, ‘संक्रमित व्यक्तिसँग जो नजिक छ। बिरामी व्यक्तिको सेवामा खटिएका व्यक्तिहरु बढी जोखिममा हुने भए। यदि कोही संक्रमित भएको खण्डमा ४ देखि १४ दिनभित्रमा लक्षण देखापर्न थाल्छन्।’

डा. पुनका अनुसार निपाह भाइरसको संक्रमण हुँदा ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, मांसपेसी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, टन्सिलाइटिस जस्ता विभिन्न लक्षणहरु देखापर्ने गर्छन्।

संक्रमण बढ्दै गयो भने मष्तिस्कमा असर पार्न थाल्ने उनले बताए। डा. पुनले थपे, ‘मस्तिष्कमा असर पुग्यो भने मस्तिष्क सुनिन थाल्छ। जसले गर्दा ४८ घण्टामा मानिस अचेत अवस्था अर्थात कोमामा जाने सम्भावना बढी हुन्छ। यस्तो अवस्था देखिनु भनेको सबैभन्दा खराब अवस्था हो। यस्तो भएको खण्डमा संक्रमित व्यक्तिको मृत्यु हुने सम्भावना धेरै हुन्छ।’

सुरुवाती चरणमै निपाह भाइरसको बारेमा थाहा नहुँदा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्नसक्छ तर निपाह भाइरसका लागि ठ्याक्कै यही औषधि भनेर अहिलेसम्म निर्माण भइनसकेको विज्ञहरुले बताएका छन्। विभिन्न औषधि चलाउँदै आए पनि वैज्ञानिक रुपमा हालसम्म पुष्टि भइसकेका छैनन्।

विभिन्न महामारी रोकथामका लागि खोप निर्माण भए पनि निपाह भाइरसको रोकथामका लागि खोप उपलब्ध छैन। जसका कारण यसको उपचार धेरैजसो लक्षणका आधारमा गरिँदै आएको डा. अधिकारीले बताए। उनले भने, ‘परीक्षण गर्ने क्रममा हामीले पीसीआर, इलाइजालगायत अन्य विधिबाट भाइरसको पहिचान गरिसकेपछि यसले मानिसको स्वास्थ्यमा के कस्तो असर पार्न सक्छ। त्यसैका अधारमा स्पेसिफिक र जनरल किसिमको उपचार व्यवस्थापन गर्न सकिन्छ। र, यही गरिदै आएको छ।’

डा. अधिकारीका अनुसार यसको रोकथामका लागि फलफूल राम्रोसँग पखालेरमात्रै खाने, तरकारी सकेसम्म पकाएर खाने, गाईवस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेरमात्रै पिउने, बेलाबेलामा साबुन पानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नु पर्दछ।

यो रोगको मृत्युदर अति उच्च रहेकोको विभिन्न अध्ययन अनुसन्धानहरुमा उल्लेख गरिएको छ। यस्तै यो संक्रमण ४० देखि ७५ प्रतिशतसम्म मृत्युदर रहेको डा. पुले बताए। उनले भने, ‘यसको मृत्युदर अत्यधिक उच्च रहेको छ। संक्रमित १० जनामध्ये ७ जनासम्मको मृत्यु हुने भनिएको छ। यो मानिसबाट मानिसमा सर्ने भएका कारण धेरै चिन्ताको विषय बनेको छ।’

यो भाइरसको संक्रमण देखिएका ठाउँबाट नेपाल भित्रिएकाहरुलाई निगरानीमा राख्न अत्यन्तै जरुरी रहेको डा. पुनले बताए। उनले भने, ‘यो नोपलमै देखिनुपर्छ भन्ने छैन। महामारी फैलिएको ठाउँबाट नेपाल आवतजावत गर्ने व्यक्तिहरुबाट फैलिनसक्ने सम्भावना सधैँ उच्च नै रहिरहेको भएकाले उनीहरुलाई क्वारेन्टिन तथा आइसोलेसनमा राख्न आवश्यक छ।’

विश्व स्वास्थ्य संगठनले यो भाइरसलाई ठूलो महामारीको रुप लिन सक्ने ९ घातक रोगहरुमध्ये एक मान्दै आएको छ।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्