बाँकेमा १२ जना कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु

नेपालगञ्ज – बाँकेमा सोमबार १२ जनामा कोरोना पुष्टि भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार तीन वटा ल्याबमा ५६ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो। भेरी अस्पतालमा गरिएको परीक्षणमा मात्रै कोरोना देखिएको छ। अन्य दुई वटा ल्याबमा गरिएको परीक्षणमा कसैलाई पनि कोरोना देखिएन।

भेरी अस्पतालमा ३५ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो। कोहलपुरमा मेडिकलमा १४ जना र बागेश्वरी ल्याबमा ७ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन। कोरोना पुष्टि भएका १२ जनामध्ये ६ जना बाँके जिल्ला निवासी रहेका छन्।

सोमबार ५ जना डिस्चार्ज भएका छन्। जिल्लामा ७४ जना सक्रिय संक्रमित रहेका छन्।

यसैबीच गएराति बाँके र दाङका एक/एक जना संक्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ। बाँके खजुरा गाउँपालिका वडा नं. ४ का ७५ वर्षीया महिलाको मृत्यु भएको छ। भदौ २८ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का ८२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। भदौ १८ गते पीसीआर गरिएका उनलाई १९ गते भेरीमा भर्ना गरिएको थियो।

योसँगै कोरोनाबाट बाँके जिल्लाका ३ सय ३२ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका ४ सय १४ जनाले ज्यान गुमाएका छन्।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्