सम्पर्क कार्यालयका नाममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई वीरगञ्जमा क्वाटर!

वीरगञ्ज– पर्साको बहुदरमाई नगरपालिकाले सम्पर्क कार्यालय भनी सदरमुकाम वीरगञ्जमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई क्वाटर उपलब्ध गराएको छ।

०७६/७७ मा नगरपालिकाले वीरगञ्जमा नगरपालिकाको सम्पर्क कार्यालय भनी कोठा भाडामा लिएर प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई बस्न क्वाटर उपलब्ध गराएको हो।

महालेखा परीक्षकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार लेखा प्रमुख बस्ने क्वाटरका लागि नगरपालिकाले मासिक ८ हजार रुपैयाँका दरले एक वर्षमा ९६ हजार भुक्तानी गरेको छ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृतका लागि लिइएको घरको भाडाबापत मासिक १२ हजारका दरले एक लाख ४४ हजार नगरपालिकाले नै तिरिदिएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाभित्र मात्र खर्च गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखलाई नगर क्षेत्रभन्दा बाहिरको घरभाडा भुक्तानी दिन मिल्ने व्यवस्था निजामती सेवा ऐन नियम तथा अन्य कुनै नियममा देखिएको छैन।

नगरपालिका क्षेत्रभन्दा बाहिर सम्पर्क कार्यालय खडा गर्नु संघीयताको मर्मविपरीत भएको पनि महालेखा परीक्षकको कार्यालयले जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

यसले सेवा प्रवाहमा समेत प्रतिकूल प्रभाव पार्ने भएकाले नगर क्षेत्रभन्दा बाहिर घर भाडाबापत दिइएको २ लाख ४० हजार रकम असुलउपर गर्नसमेत महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ।

पहिले वीरगञ्जमा सम्पर्क कार्यालय खोलिए पनि अहिले भने उक्त कार्यालय हटाइएको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले जानकारी दिए। भाडाबापतको रकम असुल गर्नुपर्ने तथा बेरुजु भएको रकमबारे आफूलाई पनि जानकारी आएको तथा यसबारे आफूले बुझ्ने शाहले बताए।

‘पहिले सम्पर्क कार्यालय थियो, अहिले छैन त्यो हटिसकेको छ,’ उनले भने, ‘नगरपालिकामा १४ करोडभन्दा बढी बेरुजु भएको भनी खबर मलाई पनि छ अब असुल गर्नुपर्ने कति रकम छ यसबारे कार्यालयमै गएर बुझ्छु।’

०७६/७७ मा मात्रै बहुदरमाई नगरपालिकामा १४ करोड ७७ लाख ८७ हजार बेरुजु देखिएको छ। सोमध्ये असुल गर्नुपर्ने ३८ लाख २ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ७ करोड ६४ लाख १२ हजार, नियमित गर्नुपर्ने ५ करोड ४१ लाख २७ हजार र पेस्की बाँकी १ करोड ३४ लाख ४६ हजार रहेको महालेखाको प्रतिवेदनले जनाएको छ।

जगरनाथपुर गाउँपालिकाको पनि वीरगञ्जमा सम्पर्क कार्यालय


पर्साकै जगरनाथपुर गाउँपालिकाले पनि सदरमुकाम वीरगञ्जमा आफ्नो सम्पर्क कार्यालय खोलेको छ। गाउँपालिकाले मासिक भाडा दिने गरी गाउँपालिकाका लागि सम्पर्क कार्यालय खोलेको हो।

वीरगञ्जमा खोलिएको सम्पर्क कार्यालयका लागि ०७६/७७ मा मासिक १८ हजार गरी वार्षिक २ लाख १६ हजार रुपैयाँ गाउँपालिकाले भुक्तानीसमेत दिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ०७८ सालको वार्षिक प्रतिवेदनमा जनाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पारित बजेट पालिकाभित्र खर्च गर्नुपर्ने व्यवस्था छ। गाउँपालिका क्षेत्रभन्दा बाहिरको घरभाडा भुक्तानी दिन मिल्ने व्यवस्था प्रचलित ऐन नियममा नदेखिएको महालेखाले उल्लेख गरेको छ।

गाउँपालिका क्षेत्रभन्दा बाहिर सम्पर्क कार्यालय खडा गर्नु संघीयताको मर्मविपरीत भएको तथा यसले सेवा प्रवाहमा समेत समस्या प्रतिकूल प्रभाव देखिने भएकाले महालेखा भाडाबापतको खर्च नियमित नदेखिएको भनेको छ।

यस गाउँपालिकामा ०७६/७७ मा भने २० करोड ७३ लाख २० हजार बेरुजु देखिएको महालेखाको प्रतिवेदनले जानकारी दिएको छ। सोमध्ये असुल गर्नुपर्ने ५५ लाख ७० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने १० करोड २६ लाख ८४ हजार नियमित गर्नुपर्ने १ करोड ७७ लाख ५८ हजार र पेस्की बाँकी ८ करोड १३ लाख ८ हजार छ।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्