कांग्रेस अविधेशन कार्यतालिका फेरि प्रभावित, १३ जिल्लामा भोलि अधिवेशन नहुने

काठमाडौँ – नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशिल सदस्यता सार्वजनिक गर्न नसक्दा फेरि अधिवेशन कार्यतालिका प्रभावित हुने भएको छ।

पछिल्लोपटक हेरफेर गरिएको कार्यतालिका अनुसार मंगलबार बाँकी रहेका २० जिल्लामा वडा अधिवेशन गर्ने भनिए पनि सात जिल्लामा मात्रै हुने भएको हो। १३ जिल्लाको क्रियाशिल सदस्यतामा देखिएको विवाद सोमबार साँझसम्म सार्वजनिक नहुँदा मंगलबार वडा अधिवेशन नहुने भएको हो।

प्रदेश २ का आठ जिल्लासहित रसुवा, बाँके, डोल्पा, कैलाली र सुर्खेतको क्रियाशिल सदस्यता निर्वाचन समिति समक्ष आइपुगेर सार्वजनिक भएको छैन। निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार सोमबार क्रियाशिल सार्वजनिक नहुने र १३ जिल्लामा कार्यतालिका प्रभावित हुने जानकारी दिए।

उनले भने, ‘निर्वाचन समितिले अहिलेसम्म १३ जिल्लाको क्रियाशिल पाएको छैन। अब ती जिल्लामा भोलि अविधेशन नहुने भो। बाँकी सात जिल्लामा भने हुन्छ।’

घिमिरेले छलफल गरेर बाँकी जिल्लामा कहिले अविधेशन गर्ने भन्ने टुंगो लगाइने बताए। भदौ ३० गते क्रियाशिल सदस्यता सार्वजनिक भएका काठमाडौं, मोरङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा भने मंगलबार नै वडा तहको अधिवेशन हुने भएको छ।

नेता गोपालमान श्रेष्ठले पनि सोमबारसम्म क्रियाशिल सदस्यता सार्वजनिक नभएकाले अब १३ जिल्लाको हकमा नयाँ कार्यतालिका आउने जानकारी दिए।

विवाद टुंगियो भने पनि टुंगिएन


आइतबार नै १३ जिल्लाको क्रियाशिल सदस्यता विवाद टुंगिएको दाबी गरिएको थियो। तर भएका सहमति कार्यान्वन गर्ने क्रममा कुरा नमिलेपछि सार्वजनिक नभएको हो।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आइतबार समाधान गरी सहजिकरण समितिमा पठाएको थियो। सहजिकरण समितिमा केन्द्रीय सदस्य आनन्द ढुंगाना, जीवन परियार र योगेन्द्र चौधरी छन्।

सिटौला नेतृत्वको कार्यदलले विवाद समाधानका लागि नौ बुदे निर्णय गर्दै केही स्थानमा १३औँ महाधिवेशनकै सदस्यतालाई मान्यता दिने निर्णय गरेको थियो।

धनुषाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशन यसपालि गर्न नेतृत्वले विशेष पहल गर्ने सहमति गर्दै अन्तिम निर्णय गर्ने अधिकार सभापति शेरबहादुर देउवलाई दिएको छ। उपसभापति विमलेन्द्र निधिको निर्वाचन क्षेत्रसमेत भएकाले त्यहको विवादबारे निर्णय गर्ने अन्तिम अधिकार सभापतिलाई दिइएको हो।

धनुषाकै प्रतिनिधिसभा निर्वाचन क्षेत्र–४ को वट्टेश्वर नगरपालिका–५, क्षिरेश्वर नगरपालिका–१० मा नयाँ क्रियाशील सदस्यता स्थगित गरिएको छ। त्यस्तै मिथिला बिहारी नगरपालिका–६ र १०, लक्ष्मीनिया गाउँपालिका –१ र २ मा वडा सभापतिले सिफारिस गरेकालाई मात्रै मान्यता दिने सहमति भएको छ।

क्षिरेश्वर नगरपालिका–७, लक्ष्मीनिया गाउँपालिका–३, ४, ५ र ६, मिथिला बिहारी नगरपालिका–२ र जनकपुर उपमहानगरपालिका–१९ मा वडा सभापतिले सिफारिस गरेका क्रियाशील सदस्यहरुले मात्रै मान्यता पाउने भएका छन्। अहिले स्थगन भएका नयाँ क्रियाशील सदस्यतालाई १४औँ महाधिवेशनपछि मान्यता दिइनेछ।

बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, निर्वाचन क्षेत्र–२ को १७ वडामा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन हुनेछ। क्षेत्र नम्बर ३ को कलैया उपमहानगरपालिकाका केही वडामा पनि नयाँ सदस्यतालाई १४औँ महाधिवेशनमा मान्यता नदिने सहमति भएको छ। त्यस्तै सप्तरीको निर्वाचन क्षेत्र १, २ र ४ मा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन प्रक्रिया सुरु हुनेछ।

रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–१ मा क्रियाशील सदस्यता विवाद अन्तिम समयमा मिलेको छ। पर्साको वीरगञ्जमा सदस्यता छानविन समितिका संयोजक लेखक, ढुंगाना र जीवन परियारसहित रौतहटका सबै पक्षका नेताहरुसँग छलफल गरेर सहमति गरेको छ।

सुदूरपश्चिम प्रदेशको कैलालीको टीकापुर नगरपालिका–१ मा पनि पुरानै क्रियाशिल सदस्यताबाट अधिवेशन हुने भएको छ। एमालेबाट कांग्रेस प्रवेश गरेका नेता मोहनसिंह राठौरलाई कांग्रेसको पुराना क्रियाशील सदस्यता संख्यामा शतप्रतिशतभन्दा नबढ्ने गरी कायम गर्ने समझदारी नेताहरुले गरेका छन्।

कांग्रेस प्रवेश गरेका आशाराम चौधरीलाई १ सय २५ जना थप क्रियाशील सदस्यता दिने र समता पार्टीबाट बर्दगोरिया गाउँपालिकामा पाँच जना क्रियाशील सदस्यता थप गर्नेसहमति भएको छ।

कैलालीको निर्णय कार्यान्वयनको जिम्मा नेताहरु जीवन परियार र योगेन्द्र चौधरीलाई दिइएको छ । बर्दियाको मधुवन नगरपालिका–३ मा अखण्ड नेपालबाट ३१ जनालाई क्रियाशील सदस्यता थप गर्ने समझदारी भएको छ ।

डोल्पामा राप्रपाबाट प्रवेश गरेका कर्णबहादुर बुढालाई एक हजार क्रियाशील सदस्यता दिने निर्णय गरेकोमा समितिले जम्मा २ सय ५० सदस्यता स्वीकृत गरेको थियो।

वडा अधिवेशनमा समायोजनबाट आएका व्यक्तिले जितेमा क्रियाशील सदस्यता थप गर्ने समझदारी भएको छ । पछिल्लो कार्यतालिका अनुसार पालिका तहको अधिवेशन ९ असोजमा हुनेछ।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्