महिला हिंसाविरुद्धको अभियानमा साथदिन माग गर्दै सिडिओलाई ज्ञापनपत्र

सिमकोट – जिल्लामा महिलाविरुद्ध हुने सबै खाले हिंसाको विरोधस्वरूप जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापनपत्र पेस गरिएको छ। नेकपा माओवादी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले सोमबार ज्ञापन पत्र पेस गरेको हो।

महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्ध अभियान सञ्चालन कार्यको थालनी गर्न जिल्ला प्रशासन कार्यालमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेस गरेको संघकी केन्द्रीय सदस्य जुम्कित लामाले जानकारी दिइन्।

श्रीमान्‌को मदिरा सेवनबाट महिला झन् बढी पीडित हुनुपरेको समेत ज्ञापन पत्रमा उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि कदम चाल्न पनि प्रशासनको ध्यानाकर्षण गरिएको छ।

धेरै महिला हिंसाका कुरा सामाजिक लाजले बाहिर नआउने जनाउँदै अब त्यस्ता कुरा सरोकारवाला निकायमा पुर्‍याउनसमेत उनले आग्रह गरेकी छन्।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले महिलामाथि हुने सबै प्रकारका हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता जनाएका थिए।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्