सन्तानेश्वर मन्दिरलाई एक लाख सहयोग

नेपालगञ्ज– साइकल अभियन्ता एवं युवा नेता सतिश निरौलाले बाँकेको नरैनापुरमा रहेको सन्तानेश्वर मन्दिरको खानेपानी व्यवस्थापनका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन्।

सन् २०२१ को कोराअन्तर्गत सय किलोमिटर साइकल चलाउने क्रममा अभियन्ता निरौलाले एक किलोमिटर साइकल चलाएको एक हजार स्पोन्सर गर्न आह्वान गरेका थिए। उक्त आह्वानमा कसैले एक किलोमिटर त कसैले दश किलोमिटरको स्पोन्सर गरेका थिए।

५८ जनाबाट संकलन भएको एक लाख रुपैयाँ निरौलाले सोमबार नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामार्फत मन्दिरका मूल महन्त योगानन्द गिरीलाई हस्तान्तरण गरे।

पछिल्लो समयमा चर्चामा आएको सन्तानेश्वर मन्दिरमा खानेपानीको अभाव रहेको छ। करिब एक किलोमिटर तल झरेर पानी लैजानु पर्छ। मन्दिर नजिक रहेको दिब्यदर्शी आश्रममा मूल महन्त गिरीलगायत बस्छन्। खानेपानीका लागि ठूलो समस्या देखेपछि आफूले कोराका बेलामा सहयोग अभियान थालेर सहयोग जुटाएको निरौलाले बताए।

कोरा भन्नाले धार्मिकस्थलहरुको परिक्रमा भन्ने बुझिन्छ। कोराअन्तर्गत निरौलाले नेपालगञ्जका मठमन्दिरको परिक्रमासँगै कोहलपुर, बर्दियाको बाँसगढीको केदारेश्वर धाम, सतखलवा, जब्दीघाट, गुलरियाको परिक्रमा गरेका थिए।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्