बुटवलका नगरप्रमुखलाई मुक्का हान्ने युवक समातिए

बुटवल- बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने युवक गणेश पंगेनी पक्राउ परेका छन्।

उनले सोमबार पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका सुवेदीमाथि आक्रमण गरेका थिए।

उनलाई सोमबार बेलुकी पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ।

पंगेनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन्।

आक्रमणको निन्दा

बुटवल उपमहानगरपालिकाले आक्रमणको निन्दा गर्दै छानबिनको माग गरेको छ।

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले घटनाको छानबिन गर्न माग गरेका छन्।

उनले पहिरोस्थलको समस्या बुझ्न गएको प्रमुखसहितको टोलीमाथि आक्रमण हुनुले घटना सुनियोजित भएको देखिने बताएका छन्।

यस्तै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले विज्ञप्ति निकालेर घटनाको छानबिन गर्न माग गरेका छन्।

शान्ति समाज रुपन्देही, नेकपा एमाले बुटवल नगर कमिटी, युवा संघलगायतले विज्ञप्ति निकालेर घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

असोज ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्