देशभर सामान्य बदली, हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौँ – देशभरको मौसम मंगलबार सामान्य बदली रही मध्य र पश्चिमका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव अहिले नेपालमा छ। यस्तै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा हल्का तल रहेको मौसमविदले बताएका छन् ।

अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका सामान्य वदली र बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । लुम्बिनी प्रदेशका केही स्थान, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ ।

मंगलबार दिउँसो देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा सम्भावना छ।

यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्