काठमाडौँसहितका सात जिल्लामा आज कांग्रेसको वडा अधिवेशन हुँदै

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार सात जिल्लामा वडा अधिवेशन हुँदैछ। वडा अधिवेशन हुन बाँकी २० जिल्ला मध्ये काठमाडौँसहितका सात जिल्लामा मंगलबार अधिवेशन हुन लागेको हो ।

मंगलबार सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण टुंगो नलागेका कारण वडा अधिवेशन हुँदैन ।

५७ जिल्लामा यसअघि नै नेपाली कांग्रेसको वडा अधिवेशन भइसकेको छ। कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि सुरु भएको हो। प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण टुंगो नलागेका कारण अधिवेशन हुन सकेको छैन ।

कांग्रेसले महाधिवेशन अन्तर्गत गाउँरनगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ। त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुनेछ ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्