अन्तर्राष्ट्रिय यात्रुमा लाग्दै आएको यात्रा प्रतिबन्ध फुकुवा गर्ने अमेरिकाको घोषणा

अमेरिकाले कोरोना भाइरस महामारीका कारण लगाउँदै आएको यात्रा प्रतिबन्ध खुकुलो बनाएको छ । अमेरिकाले बेलायत, युरोपियन युनियन अन्तर्गतका देशसहित अन्तर्राष्ट्रिय यात्रुमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने भएको हो ।

आउँदो नोभेम्बरदेखि खोपको पूर्णमात्रा लगाएका विदेशीहरुले अमेरिका यात्रा गर्न पाउने छन् । ती यात्रुहरु परीक्षण तथा कन्ट्याक ट्रेसिङ्गसहितका प्रक्रियामा भने जानु पर्ने छ ।

अमेरिकाले गएको वर्षको सुरुदेखि नै यात्रामा कडा प्रतिबन्ध लगाउँदै आएको थियो ।

युरोपका देशहरु तथा अमेरिकाका साझेदारहरुले यात्रा प्रतिबन्ध फुकुवा गर्न दबाब दिँदै आएका थिए । लामो समयदेखि लागु भएको प्रतिबन्धका कारण परिवार, प्रियजन तथा साथीहरुसँग भेटघाट गर्न नपाएकाहरुलाई अमेरिकाको पछिल्लो निर्णयले राहत मिल्ने भएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस कोभिड–१९ संयोजक जेफ जिनेट्सले सोमबार नयाँ नियम घोषणा गरेका हुन् । उनले नयाँ नियम देश भन्दा पनि व्यक्तिमा आधारित रहेको बताए । अमेरिका यात्रा गर्ने विदेशी नागरिक पूर्ण रुपमा खोप लगाएको हुनु पर्ने उनले स्पष्ट पारे ।

अमेरिकाले सन् २०२० को सुरुमा चीनबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो । त्यसपछि अरु देशका लागि पनि सोही नियम लागु गरेको हो ।
नयाँ नियम अनुसार यात्रुले खोपको पूर्ण मात्रा लगाएको प्रमाण, संक्रमण नरहेको परीक्षण रिपोर्ट, सम्पर्क विवरणसहित उपलब्ध गराउनु पर्छ ।

तर खोप अमेरिकाले प्रमाणिकरण गरेकै हुनु पर्छ वा अरु भए पनि हुन्छ भन्ने स्पष्ट भएको छैन । यो कुरा सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले निर्णय गर्ने बताइएको छ ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्