मोरङमा कांग्रेसको वडास्तरीय अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु

विराटनगर – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङमा वडास्तरीय अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ। जिल्लाका स्थानीयतहमा उम्मेद्वारी मनोनयन दर्ता प्रक्रिया सुरु भएको हो ।

मंगलबार दिउँसो सवा ४ बजेसम्ममा मनोनयन फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली साढे ४ बजे प्रकाशन हुने मोरङका नेपाली कांग्रेस सभापति डिकबहादुर लिम्बुले जानकारी दिए। सभापति लिम्बुले आफने वडामा चाहेको उम्मेदवार चयन गर्नका लागि बुधबार बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान गरिने बताए।

पार्टी क्रियाशील सदस्य विवादका कारण पहिलोचरणमा अधिवेशन रोकिएको थियो । प्रदेश १ का प्रदेशसभा सदस्य केदार कार्कीले अधिवेशनले आगामी निर्वाचनमा समेत सकारात्मक सन्देश जाने बताए । पार्टीमा देखिएको निराशालाई चिर्दै अधिवेशनले वडा, गाउँ, नगर तहसम्म राजनीति चलायमान बनाएको उनले बताए ।

क्रियाशीलता विवादका कारण पूर्व राप्रपाका नेता कार्यकर्ताले उच्च अदालत विराटनगरमा निर्वाचन रोक्न मुद्धा हालेकोमा प्रदेशसभा सदस्य कार्कीले केन्द्रले रोकेको सन्दर्भमा जिम्मेवार केन्द्र नै रहने बताए। कांग्रेससँग समायोजन भएको राप्रपाको सुनील थापा समूहका ५ सय ५५ जनाको क्रियाशील सदस्यता नआएको जनाउँदै अदालतमा मुद्धा परेको हो।

क्रियाशील सदस्यको नाम नपरेपछि विराटनगर ६ का महेशकुमार मिश्रा र हरिप्रसाद दाहाल, विराटनगर १ का रुद्र कार्की तथा विराटनगर १५ का पवनकुमार साहले मुद्धा दर्ता गराएका हुन्। ७ सय ५० जनाले क्रियाशील सदस्यताका लागि फर्म भरिए पनि सदस्यता नआएपछि उनीहरुले निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेशसहित उत्प्रेषा, निषेधायूक्त परमादेशलगायतको उपर्युक्त आदेश जारी गर्न माग गरेकाछन्।

अर्कोतर्फ, विराटनगर महानगरपालिका वडा नम्बर ८ का वडा सचिवका उम्मेदवार धिरज दाहालले यसपटकको अधिवेशनले कांग्रेसलाई बलियो बनाउने बताँउछन्। राजनीतिमा युवाको सक्रियतासँगै अधिवेशन र निर्वाचनले पार्टीमा नयाँ तरंग ल्याएको बताएका दाहालले स्थानीय तहमा अधिवेशनको वातावरणले आगामी निर्वाचनलाई समेत सकारात्मक बल दिने उल्लेख गरे ।

जिल्लाका विद्यार्थी शाखा प्रमुख राजु मास्केले अधिवेशनले युवादेखि बृद्ध सबैतहमा उर्जा दिएको बताए। अधिवेशनमा अधिकांश युवाको सहभागिता देखिएको बताएका वडा नम्बर १० का स्थानीय मास्के निर्वाचन हुने बाहेकका स्थानमा विवादरहित सर्वसम्मत चयनका लागि पहल भइरहेको जानकारी दिए।

मोरङमा कांग्रेसका १४ हजार ५ सय र नयाँसहित ३० हजार ७ सय क्रियाशील सदस्य रहेका छन्। ती सदस्यहरुबाट निर्वाचित जिल्लाका करिब ३ हजार क्षेत्रीय प्रतिनिधिको मतदान प्रक्रियाबाट जिल्ला समितिको चयन हुनेछ। प्रदेश १ का अन्य १३ जिल्लाका सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ । प्रदेश १ का १ सय १ सय ५७ वटा वडामध्ये मोरङको भने अधिवेशन हुन बाँकी छ । असोज ५ गते वडाको अधिवेशनपछि असोज ९ गते गाउँ तथा नगरको अधिवेशन हुनेछ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्