क्यानडा निर्वाचनः ट्रूडोले फेरि सरकार बनाउने, तर अल्पमतको

क्यानडाको प्रधानमन्त्रीका रुपमा जस्टिन ट्रूडोले तेस्रो कार्यकाल जिम्मेवारी सम्माल्ने भएका छन् । संसदीय चुनावमा ट्रूडोको लिबरल पार्टीले सबैभन्दा धेरै सिटमा जित हाँसिल गरेको हो ।

बहुमतबाट केही पछि परेको ट्रूडोको पार्टीले अल्पमतको सरकार बनाउने भएको हो । यसअघि पनि ट्रूडोको पार्टीले अल्पमतको सरकार बनाएको थियो । कोरोना भाइरसको महामारीकै बेला ट्रूडोले बहुमतको अपेक्षामा चुनावको घोाषणा गरेका थिए ।

कन्जरभेटिभ पार्टी दोस्रो ठूलो बने पनि ट्रूडोको पार्टीलाई पछि पार्न सकेन । ट्रूडोले देशलाई महामारीबाट बाहिर लैजाने अभियानका लागि स्पष्ट मतको खोजीमा चुनाव गराएका थिए ।

सोमबार भएको मतदानको गणना जारी रहँदा ट्रूडोको पार्टी कुल ३३८ सिट मध्ये कम्तीमा १५८ सिटमा अघि रहेको छ । कन्जरभेटिभ पार्टी १२१ सिटमा अघि रहेको छ । बिक्यू ३१, एनडिपी २६ तथा ग्रिन पार्टी दुई सिटमा अघि छन् । बहुमतका लागि १७० सिट चाहिन्छ ।

अल्पमतको सरकार बन्ने हुँदा ट्रूडोले महत्वपूर्ण नीति नियमका लागि अरु पार्टीसँग सहकार्य गर्नु पर्ने भएको छ ।

चुनावी नतिजापछि स्थानीय समय अनुसार मंगलबार बिहानै मोन्ट्रियलबाट सम्बोधन गर्दै चाँडो चुनाव गर्ने आफ्नो निर्णय नागरिकलाई मन नपरेको स्वीकार गर्दै अब नियमित काममा फर्किन उल्लेख गरे ।

स्थिर बहुमत सरकारकाे अपेक्षामा  ट्रूडोले मध्यावधि चुनाव गर्ने निर्णय गरेका थिए। विपक्षीले मध्यावधि चुनावको आवश्यकता नरहेको आरोप लगाउँदै ट्रुडोले व्यक्तिगत महत्वाकांक्षाबाट यो निर्णय लिएको बताएका थिए।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्