फोनपेमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा सेवा शुल्क १० रुपैयाँ मात्रै लाग्ने

काठमाडौँ– फोनपेको फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा १० रुपैयाँ मात्र शेवा शुल्क लाग्ने भएको छ। फोनपे डाइरेक्टमार्फत एक सय रुपैयाँदेखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र १० रुपैयाँ शुल्क लाग्ने भएको हो।

यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो। यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो। फोनपेले शुल्क घटाएसँगै डिजिटल कारोबारमा अर्को ठूलो माइलस्टोन मिल्ने अपेक्षा गरिएको छ।

फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन्। यस्तै फोनपेमा हालसम्म ५ लाखभन्दा बढी मर्चेन्ट रहेका छन्।

एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्