‍सिमकोट– कोरोनाको दोस्रो लहर सुरु भएसँगै प्रेम ताम्राकारलाई आम्दानीको बाटो गुम्ने चिन्ता थपियो। चिन्ताकै बीच उनी पिठ्यूँमा तामाका भाँडा बोकेर कैलालीबाट हुम्लातिर लम्किए।

उनले त्यतिबेला तामाका भाँडा बिक्री गर्ने सोचले हुम्ला जाने निधो गरेका थिए। तामाका भाँडा बनाउने सीपसमेत भएका उनले आफ्नो सीपको प्रयोग गर्दै अहिले राम्रो आम्दानी गरिरहेका छन्।

त्यतिबेला उनले तीन वटा तामाका भाँडा बिक्री गरेर घर फिर्ता हुने सोच बनाएका थिए। पहिले डडेल्धुरा घर भएका उनी अहिले कैलालीको लम्की बस्दै आएका छन्। गत जेठ महिनामा उनी भाँडा बोकेर हुम्ला छिरे।

बोकेर ल्याएका तामाका भाँडा उनले खार्पुनाथ गाउँपालिकाको छिप्रा गाउँमा बिक्री गरे। प्रतिभाँडा तीस हजारमा। त्यसपछि उनलाई कामको अर्डर आउन थाल्यो।

तामाका भाँडा बनाउने साधन उनले बाजुरा र हुम्ला जिल्लाको सीमाना कवाडीमा राखेका थिए। ताम्राकारले ती भाडा बनाउने साधन लिन जाने निधो गरे। चार दिन पैदल हिँडेर ती सामान ल्याएर आए। अनि सुरु भयो उनको तामाका भाँडा बनाउने काम।

दमाह, खड्खुडो, बाटा बनाउने सीप भएका उनलाई अहिले ती भाडा बनाउन भ्याइनभ्याइ भएको छ। सुरुमा चार वटा दमाहा बनाए। एउटा दमाहा बनाउन पाँच दिन लाग्ने र त्यसको मूल्य पैतालीस हजार पर्ने गरेको उनी बताउँछन्।

‘हालसम्म पाँच वटा दमाह, सात वटा खड्खुडो (तामाको ताउलो) बनाइसकेको छु। एउटा खड्कुडो २५ देखि ३० हजार रुपैयाँसम्म बच्ने गरेको छु,’ उनले भने।

अब हुम्लामै काम गरेर बस्ने उनको भनाइ छ। उनले भने, ‘अब यतै जमेर बस्छु। अहिले छिप्रा गाउँको नल्न पुलमा भाडाको घरमा बसेर काम गरिरहेको छु। काम धेरै आएको छ।’

दैनिक भाँडाको अर्डर आइरहने भएका कारण रोजगारीको चिन्ता नभएको उनले बताए। आफू लम्कीमै भएको भए भाँडा बिक्री गर्ने काम मात्र हुने तर हुम्ला आएर आफूमा भएको सीपको पनि सदुपयोग भएको उनले बताए।

तीन महिनाको अवधिमा साढे तीन लाख रुपैयाँ कमाएको उनले जानकारी दिए। कोरोनाले सबैतिर असहज बनाएको भएपनि आफूलाई भने रोजगारीको बाटो खुलेको ताम्राकार बताउँछन्।

उनीसँगै भाँडा बोकेर आएका अन्य पाँच जना साथी भने अहिले पनि भाँडा बिक्रीकै काम गरिरहेका छन्।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्