‘मास सेन्टिमेन्ट’का लागि हतारिँदा प्रहरी अनुसन्धानलाई ‘झापड’

मादी घटनाका अभियुक्तबारे जानकारी दिँदै डिआइजी अरुणकुमार बिसी।

काठमाडौँ- कुनै पनि घटना भएपछि प्रहरीलाई दबाब हुन्छ, चाँडै अभियुक्त पत्ता लगाउने र पक्राउ गर्ने। अभियुक्त पत्ता लाग्न ढिला भयो भने प्रहरीले विभिन्न आरोपहरु ब्यहोर्छ। चाँडै पत्ता लगायो  जनताको वाहवाही पाउँछ। खासगरी ठूला घटनामा प्रहरी बढी दबाबमा हुन्छन् र चाँडै अनुसन्धान सक्न लालायित देखिन्छन्।

संखुवासभामा हालसालै भएको यस्तै एउटा घटना र त्यसपछि सार्वजनिक गरिएका एक अभियुक्तका कारण प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीलाई घोषणा गरेको पुरस्कार दिने निर्णय उसलाई यतिबेला निल्नु न ओकल्नु बनेको छ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेलगत्तै प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा खटिएका  प्रदेश-१ प्रहरी प्रमुख तथा डीआईजी अरूण कुमार विसी, सोही कार्यालयका  एसपी भीमबहादुर दाहाल र प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ,  संखुवासभा प्रहरी प्रमुख तथा डीएसपी लालध्वज सुवेदी र  केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक मणिराम थापालाई पुरस्कृत गरेकाे थियाे ।

उक्त घटनाका आरोपीलाई सार्वजनिक गर्दा प्रदेश-१ प्रहरी प्रमुख डीआईजी अरुण बिसीले घटना एक्लैले गराएको भन्दै आरोपीको बयानका आधारमा बेलिबिस्तार लगाएका थिए।

प्रहरीले आरोपी लोकबहादुर कार्कीको आधारमा घटनाक्रमको ‘सिन’ सार्वजनिक गरेको थियो। तर घटनामा अरु पनि संलग्न भएको भन्दै प्रहरीले सोमबार थप चार जनालाई सार्वजनिक गरेको छ। थप पक्राउ परेपछि प्रहरीले घटनाको योजनाकार अर्कै रहेको भन्दै फरक ‘सिन’ सार्वजनिक गरेको छ।

त्यसअघि देशका ठूला र रहस्यमय घटनाको अनुसन्धान गर्ने जिम्मेवारी पाएको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी लोकबहादुरलाई सार्वजनिक गरेलगत्तै काठमाडौँ फर्किएको थियो। त्यसको मतलब सीआईबीको पनि निष्कर्ष थियो- ६ जनाको हत्या लोकबहादुर एक्लैले गरेका हुन्।

प्रहरीले आरोपी लोकबहादुर कार्कीको आधारमा घटनाक्रमको ‘सिन’ सार्वजनिक गरेको थियो। तर घटनामा अरु पनि संलग्न भएको भन्दै प्रहरीले सोमबार थप चार जनालाई सार्वजनिक गरेको छ। थप पक्राउ परेपछि प्रहरीले घटनाको योजनाकार अर्कै रहेको भन्दै फरक ‘सिन’ सार्वजनिक गरेको छ।

नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदी यस्ता घटनामा प्रहरीले जनमानसमा उब्जिएको ‘सुरक्षा थ्रेट’लाई पनि हेर्ने गरेको बताउँछन्। ‘मादीकै घटनालाई हेर्ने हो भने हत्या घरभित्रबाटै भएको हो वा बाहिरबाट आएर भएको हो भन्ने जान्ने उत्सुकता स्थानीयलाई हुन्छ। त्यसैले प्रहरीलाई ती‍ दुईमध्ये एउटा निष्कर्षचाँडै दिनुपर्ने चुनौती हुन्छ’, सुवेदी भन्छन्। प्रमुख अभियुक्तबारे यकिन भएपछि त्यसलाई सार्वजनिक गरिनु सामान्य हुने उनी बताउँछन्। भन्छन्, ‘कहिले काहीँ अनुसन्धानका क्रममा अरु मानिसहरु पनि पक्राउ पर्न सक्छन्।’

सुवेदीले भनेजस्तो मादी घटनामा थप अनुसन्धानकै क्रममा चार जना पक्राउ परेका हुन्। तर घटनाबारे थपिएका तथ्यहरुले प्रहरीको प्रारम्भिक निष्कर्श ‘अपरिपक्व’ थियो भन्ने स्पष्ट हुन्छ।

यसअघि कन्चनपूरको भीमदत्त नगरपाालिकामा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरीले अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्ट भेजिनल स्वाबमा भेटिएको डीएनएसँग उनको डीएनए नमिलेपछि सरकारी वकिल कार्यालयको रोहबरमा उनलाई छाडिएको थियो।

डीएनए परिक्षणको रिपोर्ट आउनु अघि नै प्रहरीले विष्टलाई सार्वजनिक गरेको थियो। निर्दोषलाई यातना दिएर फसाउन खोजिएको भन्दै विष्टले पछि प्रहरी अधिकारीहरुविरुद्ध नै मुद्धा हालेका थिए।

पूर्व डीआईजी हेमन्त मल्ल अनुसन्धानमा हतारिन नहुने बताउँछन्।

‘अनुसन्धानमा हतारिनु हुँदैन। पूर्ण निचोडमा नपुगी मान्छे पनि सार्वजनिक नगरिनु पर्थ्यो’, मादी घटनाबारे पूर्व डीआईजी मल्ल भन्छन्।

रानीबारी हत्याकाण्डमा १२ वर्षपछि अभियुक्त पक्राउ पर्दा मल्लसहित सीआईबीका चारजना प्रहरी अधिकारीलाई मन्त्रिपरिषद् बैठकले पुरस्कृत गर्ने निर्णय गरेको थियो। ‘तर त्यतिबेला पुरस्कार दिने बेलामा तत्कालीन गृहमन्त्री बामदेव गौतमले अलिक हतार पो भयो की भन्नु भएको थियो। अनुसन्धान अर्कैतिर मोडिएला र अर्कै नतिजा पो आउला की भन्ने उहाँको चिन्ता थियो’, मल्ल भन्छन्।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्