रोहिंग्यालाई नेपाल भित्र्याएर भुटानी शरर्णाथीझैँ अमेरिका पुर्‍याउने सपना

सांकेतिक तस्बिर

काठमाडौँ- बर्मामा रहेका रोहिंग्यालाई भुटानी शरर्णाथी जस्तै अमेरिका पुग्ने सपना देखाएर नेपाल ल्याउने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बंगलादेशका ३० वर्षीय आजमल अली र नेपालमा रोहिंग्या शरणार्थी भएर बसिरहेका ३० वर्षीय सोफिक आलम र २६ वर्षीय नुर अमिन रहेका छन्। रोहिंग्यालाई नेपालमा शरणार्थी भएर बसेपछि अमेरिका जान पाइन्छ भन्दै गिरोहले उनीहरुलाई बंगलादेशको बाटो हुँदै नेपाल ल्याई पुर्‍याएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

भदौको तेस्रो साता १४ जना रोहिंग्यालाई अवैध बाटो भएर काठमाडौं छिरेको पाएपछि प्रहरीले नुर अमिनलाई पक्राउ गरेको थियो। घटनाको अनुसन्धानका क्रममा गिरोहले त्यसरी ल्याइएका रोहिंग्यासँग मोटो रकम लिने गरेको ब्युरोले जनाएको छ।

प्रहरीका अनुसार १४ जनालाई काठमाडौँ ल्याएलगत्तै यूएनएचसीआरको कार्यालय लगेर शरर्णाथीको परिचय पत्र दिलाइएको थियो। गिरोहले नेपालमा रोहिंग्या शरणार्थीले मासिक पुरुषका लागि पाँच हजार ७ सय ५०, महिलाका लागि ३ हजार ७ सय ५० र बालबालिकाका लागि २ हजार ७ सय ५० रुपैयाँ भत्तासमेत दिइने गरेको भनेर प्रलोभनमा पारेको प्रहरीले जनाएको छ।

ब्युरोका अनुसार गिरोहले ती रोहिंग्यालाई यूएनएचसीआरले सन् २०२२ सम्म अमेरिका जाने परिचय पत्र समेत दिने बताएका थिए।

 

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्