देउवा सरकारकै संरक्षणमा गुण्डागर्दी हुँदैछ: ओली

फाइल तस्बिर

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको आरोप लगाएका छन्।

उनले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अनेरास्ववियूको नयाँ नेतृत्वको सपथ ग्रहणका लागि मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको पटक पटक दोहोर्‍याए। उनले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरुले आपत्ति जनाउनु परेको बताए।

उनले भने, ‘सरकार निर्देशित, सरकार संचालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ। त्यसको भण्डाफोर गर्नुपर्छ। र मैले अस्ती बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छन्। जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ? प्रतिवाद गर्नु परेन? जनता भोलि प्रतिवादमा निस्कन्छ।’

अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढ्न पनि अनेरास्ववियूका नेता, कार्यकर्तालाई सचेत गराए। उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरुले अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्