पहिरो खस्दा दुई वटा जीपमा क्षति

धनगढी– दार्चुलाको मार्मा गाउँपालिका–३ रिलमा पहिरो खस्दा दुई वटा गाडीमा क्षति भएको छ।

मंगलबार लटिनाथबाट गोकुलेश्वरतर्फ जाँदै गरेको बा २१ च ७२७९ नम्बरको स्कार्पियो गाडी र से १ ज ८४९ नम्बरको बोलेरो जीपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बोलेरो जीपको अगाडि र स्कार्पियोको पछाडिको भागमा बढी क्षति भएको छ। माथिबाट खसेको ठूलो ढुगांले गाडीको पछाडिको भाग थिचिएपछि चलाउन सकिने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।

पहिरोको छेउमा गाडी रोकेर भाडा उठाउँदै गर्दा माथिबाट ढुगां खसेर क्षति भएको बताइएको छ। स्कार्पियोका चालक कञ्चनपुरको कृष्णपुरा नगरपालिका बस्ने ३५ वर्षीय गणेश भट्ट रहेका थिए। पहिरोले मानवीय क्षति भने नभएको र दुई वटा गाडीमा क्षति पुगेको स्थानीयहरुले बताएका छन्।

रिल पहिरो जान थालेको ८८ वर्ष भइसक्दासमेत पहिरो रोकिएको छैन। रिल पहिरोका कारण दार्चुलाको मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकालाई जोड्ने बिटुले लटिनाथ पारिवगर खण्डेश्वरी सडक सञ्चालनमा समेत समस्या भइरहेको छ।

स्थानीयहरुका अनुसार मार्मा गाउँपालिका–३ मा १९९० सालको भूकम्पका कारण गएको रिल पहिरो खस्ने क्रम अझै पनि नरोकिएको हो।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्