हामी स्वेच्छाचारिताको अन्त्य गर्छौँ: माधव नेपाल

फाइल फोटो।

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विगतमा भएका कमिकमजोरीलाई पन्छाएर अघि बढ्ने बताएका छन्।

मंगलबार पार्टीको केन्द्रिय कमिटीको बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। नेकपा एमालेबाट बाध्य भएर विद्रोह गर्नुपरेको भन्दै अध्यक्ष नेपालले यो कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता र परिवर्तन भएको बताए।

उनले पार्टीले नराम्रा कुराहरुलाई पन्छाएर राम्रा कुराहरुलाई मिलाउने पनि बताए। अध्यक्ष नेपालले पार्टी अब जनताको आवश्यकताअनुसार हिँड्ने बताए। उनले नेकपा एकीकृत समाजवादी पार्टी परिवर्तनकारी धारको अगुवा शक्ति बन्ने दाबी गरे।

अध्यक्ष नेपालले भने, ‘हामीले बाध्य भएर विद्रोह गर्नुपरेको हो, यो हाम्रो निरन्तरता र परिवर्तन पनि हो। कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारको निरन्तरता हो यो। तर विगतमा भएका कमीकमजोरीलाई पन्छाउँदै हामी अघि बढ्छौँ। राम्रा कामहरुलाई मिलाउँछौँ। राम्रा कुरालाई साथमा लिएर जान चाहन्छौँ। अब जनताको चाहनाअनुसारको काम हुन्छ, हामी यथास्थिति, परिवर्तनवादी धारको अगुवा शक्तिको रुप बनेर देखाउनेछौँ। हामी व्यक्तिवाद, अधिकारवाद, निरंकुश प्रवृत्ति विकृति, विसङ्गतिको प्रवृत्तिलाई हटाउनेछौँ। राष्ट्रिय पूँजीवादलाई प्रोत्साहन दिन चाहन्छौँ, हामी देशभक्तिको झण्डा बोक्न चाहन्छौँ। हामी विधि, पद्धतिलाई मान्छौँ, स्वेच्छाचारितालाई अन्त्य गर्नेछौँ। हामी विज्ञान प्रविधिको व्यापक प्रयोग गर्नेछौँ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सुदूरपश्चिम र प्रदेश दुईमा नेकपा एमालेभन्दा ठूलो भएर संसदमा रहेको बताए।

असोज ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्