कञ्चनजंघाको पर्यटन : करोडौंको लगानी संकटमा

फुङ्लिङ – कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको असरले कञ्चनजंघा पर्यटन क्षेत्रको करोडौंको लगानी सङ्कटमा परेको छ। पर्यटन प्रवर्द्धन हुन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायसँगै व्यवसायीसमेत संकटमा परेका हुन्।

नेपालको पर्यटकीय क्षेत्रमध्ये हिमाली जिल्ला ताप्लेजुङ पनि एक हो। ताप्लेजुङमा दुई प्रकारका आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन्। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा बेस क्याम्प अवलोकन गर्न विदेशी पर्यटकको पहिलो रोजाइमा पर्दछ। अर्काे विश्वको प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको दर्शन गर्न धार्मिक पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ।

कञ्चनजङ्घा र पाथीभरा ताप्लेजुङ जिल्लालाई चिनाउने प्रमुख दुई पर्यटकीयस्थल हुन्। पाथीभरा क्षेत्रमा अहिले बिस्तारै धार्मिक पर्यटकहरुको चहलपहल सुरु भएसँगै पाथीभरा क्षेत्रमा लामो समयदेखि बन्द रहेका होटल खुल्न थालेका छन्। तर कञ्चनजङ्घामा भने लाखौँ खर्च गरेर पर्यटकका लागि बनाइएको पर्यटकीय आवास अहिलेसम्म खुल्न सकेका छैनन्।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकीय आवासका लागि बनाइएको पर्यटन आवास सुनसान छ। कञ्चनजङ्घा आधार शिविर अर्थात लोनाक, खाबाचेन, घुन्सा, फले ग्याप्ला चैराम जस्ता समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा पर्ने स्थानको मुख्य व्यवसाय पर्यटन हो। प्रत्येक घरपरिवारका सदस्य पर्यटनसँग जोडिएको छ। यस क्षेत्रका घरपरिवारले कञ्चनजङ्घा क्षेत्र आउने विदेशी पर्यटकहरुका लागि विभिन्न स्थानमा होटलहरु सञ्चालन गरेर आयआर्जन गर्दै आएका पर्यटन व्यवसायीहरु अहिले समस्यामा परेको फक्ताङलुङ गाउँपालिका—६ घुन्साका पेमा शेर्पाले बताए।

कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो–ठूलो लगानीको ५२ वटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तथ्याङ्क छ। फक्ताङलुङ गाउँपालिका—६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोंग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ। समुन्द्र सतहदेखि तीन हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए। अन्य रु ८० लाखदेखि माथिका लगानीमा होटलहरु सञ्चालनमा रहेको चेम्जोङले बताए।

विगतका वर्षहरुमा कञ्चनजङ्घा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटकहरु खचाखच हुने कञ्चनजङ्घा पदमार्ग अहिले सुनसान छ। दुई वर्षदेखि कोरोनाका कारणले कञ्चनजङ्घा हिमाल जाने पर्यटक शून्य छ। गत वर्ष १२ जना विदेशी पर्यटक आएको कञ्चनजङ्घा संरक्षण क्षेत्रका व्यवस्थापन कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताए।

आर्थिक वर्ष २०७६/७७ सालमा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमालमा आएको परिषद्को तथ्याङ्क रहेको छ। सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चनजङ्घा हिमालमा आएको तथ्याङ्क छ। आन्तरिक पर्यटक १६ पुरुष र नौ महिला कञ्चनजङ्घा हिमाल अवलोकन गर्न पुगेको परिषद्का सूचना अधिकारी धमेन्द्र थापाले जानकारी दिए।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्