झापामा महिलाको शरीर टुक्रा-टुक्रा पारेर खोलामा फालियो, ४ जना पक्राउ

महिलाको हत्या अभियोग लागेकाहरू।

झापा – महिलाको कम्मरमाथि र मुनी काटेर शरीरबाट छुट्याएको अवस्थाको शव फेला परेको घटनामा संलम्न भएको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भारत बिहार किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षिय ऐतवार सोरेन, झापा गा.पा. वडा नं. १ बस्ने वर्ष ३७ को लखन टुडु सतार, झापा १ कै वर्ष ५६ को सिरी साइला भनिने सोमाई हेमरम सतार र झापा १ कै वर्ष २७ को श्री हेमरम सतार रहेका छन्।

घटनामा संलग्न ठानिएका एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता राकेश थापाले बताए। उनका अनुसार फरार रहनेमा भारत बिहार किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने मण्डल हेमरम (सतार) हुन्। उनी मृतकको देवर रहेको प्रहरीले जनाएको छ।

गत भदौ २५ गते झापा गा.पा. १ सानोमाई खोलामा नामथर वतन नखुलेको महिलाको टाउको,घाटी,पेट (कम्मर भन्दा माथीको भाग) तथा घुँडा भन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको थियो।

अनुसन्धानको क्रममा बुझ्दा नेपाली तथा भारतीय विभिन्न मानिसहरु मिलेर ती महिलाको हत्या गरेको ठहरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अनुसन्धानपछि मृतक महिला झापा गा.पा. वडा नं. १ माइती घर भइ भारत बिहार किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने डोली भनिने धोन्नी टुडु रहेकी प्रहरीको भनाइ छ।

अनुसन्धानका क्रममा उनको पतिको मृत्यु भएको १५ दिनमा उनको हत्या भएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

थापाले भने, ‘उनी र उनको परिवारमा जग्गाको लेनदेनको विवाद पनि रहेको पाइएको छ। मृतक र उनको देवरबीच उक्त विवाद रहेको देखिएको छ।’

पक्राउ परेकाहरू उनकै परिवार भित्रका माइती गाउँका मानिसहरू रहेका छन्। घटनामा प्रत्यक्ष संलग्न रहेका मृतकका भाञ्जा र सौताको भाइ पनि रहेका छन्। घटना थाह पाएर लुकाउन खोज्नेहरू पनि प्रहरीको फन्दामा परेका छन्।

मृतक महिलाको बाल बच्चा नभएको र सौताका नातेदारले षड्यन्त्र गरि उनको हत्या गराएको प्रहरीको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्