समाजवादीको बैठकमा राजनीतिक प्रतिवेदन पारित, बैठकमा नेपालले के भने?

जगन्नाथ खतिवडा।

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पाँचवटा समुह बनाई समूहगत छलफलको निष्कर्ष बुधवारको बैठकमा समुह नेताले सुझावसहित प्रस्तुत गरेको र सो प्रतिवेदन महत्वपूर्ण सुझावहरुलाई समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

समूह नं. १ बाट रामकुमार झाँक्री, समूह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उनले जानकारी दिए।

बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभूत विचारलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए।

आफूहरु तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको उनले उल्लेख गरे।

उनले भने, ‘जनताको बहुदलीय जनवादको सन्दर्भमा उठेका प्रश्नहरुको बारेमा उहाँले प्रष्टिकरण दिदैँ भन्नुभएको छ कि जनताको बहुदलीय जनवाद पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखापरेको त्यसको सिर्जनात्मक अध्याय हो । यसलाई हामीले थप विकसित गर्नेछौँ । आजभन्दा अगाडि नेकपा(एमाले)ले जबजलाई कुरुप गर्दै गएको थियो । त्यसलाई बिरुप बनाउँदै गएको थियो । या त यसलाई देवत्वकरण गर्ने र जबजलाई बेद, पुराणजस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो । या त यसलाई यति विकृत बनाइएको थियो । जबजका आदर्श भनेकै आजका व्यवहारहरु नै जबजको आदर्श हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पुर्‍याउन लागिएको थियो । हामी त्यसबाट मुक्त हुन चाहन्छौँ । जबजका सारभूत विचारहरुलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोट गरेका छौँ यो कुरालाई उहाँले अत्यन्तै प्रष्ट पार्नुभयो ।’

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै नेताहरु मार्फत् पार्टीको चुनावचिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनावचिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिए।

पार्टी केन्द्रीय कमिटी बैठक भोलि (बिहीवार) बिहान ११ बजे पनि बस्ने र भोलिको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने पनि उनले बताए।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्