नेपालमा जनमतसंग्रहको माग गर्दै विप्लवले भने- कम्युनिष्टलाई दुई तिहाइले थिच्यो

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेपालमा जनमतसंग्रहको माग गरेका छन्।

पोखरामा बुधबार अखिल क्रान्तिकारीको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै विप्लवले नेपालमा कम्युनिष्टहरुलाई दुई तिहाइले थिचेको उल्लेख गर्दै जनताको चाहनाअनुसार जनमतसंग्रह नै अहिलेको आवश्यकता भएको उल्लेख गरे।

उनले २०४६ सालको पुँजीवाद सत्ता आएसँगै शिक्षामा पनि विभेद आएको उल्लेख गरे। उनले भने- सत्तामा को आयो, हामीलाई त्यो मतलब थिएन। जनताले अधिकार पाए कि नाइँ भन्ने हाम्रो ‌सरोकार थियो।’

उनले शासन जस्तोसुकै आए पनि जनताले अधिकार नपाएको उल्लेख गरे। ‘जनताको अधिकारका लागि जनमतसंग्रह नै एकमात्र विकल्प हो।’

उनले कम्युनिष्ट बुझेको भन्ने डा.  बाबुराम भट्टराईको अहिलेको अवस्था देख्दा हाँसो लाग्ने उल्लेख गर्दै आफूले सम्झौताका लागि दिल्ली जान नचाहेको बताए।

उनले देशमा २ सय वर्षभन्दा लामो समय शासन गरेका पूर्वराजाको सम्पत्ति हुनु स्वाभाविक मान्न सकिए पनि सत्तामै पुगेको दुई वर्षमै नेताहरु अर्बपति भएकामा भने आश्चर्यचकित भएको बताए। ‘दुई महिनामै नेताहरु कसरी अर्बपति हुन्छन्?’ उनले भने।

अखिल क्रान्तिकारीको अधिवेशनअघि उद्घाटन कार्यक्रममा विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, हेमन्तप्रकाश ओलीलगायत नेताहरु सहभागी थिए।

उनले  माआोवादीले खोसेको जमिन भूमाफियासग मिलेर माआोवादीले खाएको उल्लेख गर्दै उक्त जमिन कि राज्यको हुनुपर्ने कि आफ्नो हुनुपर्ने बताए।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्