पुसदेखि बालबालिकालाई खोप दिने सरकारको तयारी

काठमाडौँ– आगामी पुसबाट बालबालिकालाई कोरोना भाइरसविरुद्ध खोप लगाउने तयारी थालिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुधबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको बताए।

यसका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको मन्त्री श्रेष्ठले बताए।मन्त्री श्रेष्ठका अनुसार गाभिमार्फत् ४० लाख मात्रा मोर्डना खोप ल्याउन प्रक्रिया टुंगिसकेको छ।

फाइजरको ६० लाख मात्रा खोप सन्दर्भमा प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

यस्तै नेपालले १ करोड ७७ लाख मात्रा खोप प्राप्त गरिसकेको उनले बताए।

हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन्।

यस्तै अमेरिकी फर्मा कम्पनी फाइजरले बनाएको कोरोना भाइरसविरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको बताइएको छ ।

उक्त उमेर समूहका बालबालिकामा पनि पर्याप्त मात्रामा एन्टिबडी उत्पादन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्