एक सातासम्म किताब जात्रा

काठमाडौँ- हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ ।

फाउन्डेसनले बुधबार एक प्रेस नोट जारी गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो ।

‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा– २०७८’का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘त्यसैले यस वर्ष पनि सेसनहरू एपीवान एचडी टेलिभिजन प्रशारण गरिनेछ । त्यसैगरी किताब जात्रा युट्युब च्यानलबाट पनि सेसनहरू हेर्न सकिनेछ ।’

‘किताब जात्रा’ असोज १० बेलुकी ५ बजेदेखि ७ बजेसम्म र त्यसपछिका दिनमा ६ बजेदेखि ७ बजेसम्म एपिवान टेलिभिजनमा हेर्न सकिनेछ ।
जात्रामा जोडिएको किताब नामलाई सार्थक बनाउन भने किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उनले बताए ।
नबिल बैंक लिमिटेडको शीर्ष प्रायोजन रहेका जात्रा ‘क्रेता मार्ट’सँगको सहकार्यमा हुन लागेको हो । ‘पावर्ड बाइ’मा ‘नेपाल बैंक लिमिटेड’ र राष्ट्रिय वाणिज्य बैंकले सहकार्य गरेका छन् ।
जनजीवनको अभिन्न अंग पठनसंस्कृति बन्नुपर्छ भन्ने ध्येय स्थापित गर्न फाउन्डेसनले आयोजना गर्ने गरेको ‘किताब जात्रा’को यो चौथो संस्करण हो । समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया गरिने जात्रामा यस साहित्य, सिनेमा, संगीत, अर्थ, उद्यमलगायतका क्षेत्रका व्यक्तित्वहरू समावेश ८ वटा सेसनका साथै विशेष र काव्यिक प्रस्तुति पनि रहने फाउन्डेसनका सचिव कला अनुरागीले जानकारी दिए ।
हरेक नागरिकले सहज रूपमा किताब पढ्ने अवस्था सिर्जना होस् भन्ने ध्येयका साथ  अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको कम्पनी किताब यात्रा प्रा.लि.ले ‘किताब जात्रा’कै अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गर्नेछ ।
यो अवार्ड आख्यानकार अमर न्यौपानेलिखित ‘गुलाबी उमेर’ र विजयकुमारलिखित ‘सम्बन्धहरू’ले प्राप्त गरिसकेका छन् । यस वर्षको सम्मान र अवार्ड दुवै ‘किताब जात्रा’को पहिलो दिन घोषणा गरिने किताब यात्रा प्रालिका सिइओ विकेश भट्टराईले बताए ।
असोज ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्