अनेसास कविता महोत्सवमा शरद पोखरेल पहिलो

बोस्टन (अमेरिका) – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको अनेसास कविता प्रतियोगितामा जापानका शरद पोखरेल पहिलो भएका छन्। विश्वभरका ३०१ प्रतियोगीलाई पछि पार्दै पोखरेलको ‘एउटा चराको सुसाइड नोट’ शीर्षकको कविता पहिलो भएको हो। उनले प्रतियोगिताको उपाधिसँगै ५ सय अमेरिकी डलर नगद पुरस्कार पाए।

नेपालका कवि शुभचन्द्र राई दोस्रो भए। अफ्रिकाका कवि गणेश खड्का, अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराई संयुक्त तेस्रो भए। दोस्रो हुनेले ३ सय डलर र तृतीय हुनेले जनही दुई–दुई सय डलर नगद प्राप्त गरे।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा बिहीबार आयोजित प्रतियोगितामा चयन भएका ३५ मध्ये ३२ जना कविले कविता वाचन गरेका थिए। कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी सभापति गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन्।

डा गोविन्दसिंह रावतले राष्ट्रकवि घिमिरेको बारेमा आफ्नो मन्तव्य राखेका थिए।

अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायकत्रय प्रा डा सावित्री मल्ल कक्षपती, डा रामजी तिमल्सिना र साहित्यकार सुरेन्द्र अस्तफलले कविताको मूल्याङ्कनका बारेमा प्रकाश पारेका थिए।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवद्र्धन पूजाको संयोजकत्वमा गठित महासचिव सर्वज्ञ वाग्ले तथा सदस्यहरू डा रेणुका सोलु, प्रमोद सारंग र महेश्वर शर्माको संयोजन समितिले प्रारम्भिक चरणको कविता चयन गरेको थियो।

प्रतियोगिताका विजेता एवं सहभागी कविहरूलाई पछि छुट्टै कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिने अनेसासले जानकारी दिएको छ।

अनेसासले राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्ने घोषणा गरेको अनेसास कविता महोत्सवको यो पहिलो संस्करण हो।

असोज ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्