एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौँ – गैरआवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। हाल एनआरएनए उपाध्यक्ष रहेकी थापाले पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

संघको २०२१/२०२३ कार्यकालको लागि उम्मेदवारी घोषणा गर्दै उनले एनआरएनएको परिवर्तनको लागि महिला नेतृत्व आवश्यक रहेको बताइन्।

‘२० वर्षअघि जमुना गुरुङले कोसिस गर्नुभएको थियो। उहाँको कोसिसलाई सफल पार्न अहिले म आएकी हुँ’, उनले भनिन्, ‘आफैले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौँ।’

उपाध्यक्ष थापाले परिवर्तनको एनआरएनए बनाउन खोजेको बताउँदै परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको अनुरोधमात्र गरेको जानकारी दिइन्।

सर्वोच्च अदालतले पनि विदेशमा बसेका नेपालीलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन आफूले दबाब दिने थापाले बताइन्।

‘लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन्। उनीहरूलाई मतदानको अधिकारबाट वञ्चित गर्नु हुँदैन भन्ने हो’, उनले भनिन्, ‘उनीहरूले मतदानको अधिकार पाउनुपर्छ।’

अहिले एनआरएनमा १ लाख ५ हजारमात्र सदस्य रहेको बताउँदै उनले आफू अध्यक्षमा निर्वाचित भए सदस्य संख्या १५ लाखसम्म पु¥याउने लक्ष्य रहेको बताइन्।

उनले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउनेसमेत बताइन्।

विदेशमा हासिल गरेको सीपलाई व्यावसायिकीकरण गर्ने योजनासमेत आफूसँग रहेको सुनाइन्। विदेशबाट एकजना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरै जनालाई सीपयुक्त बनाउन सकिने उनको भनाइ छ।

सोही कार्यक्रममा उपाध्यक्षमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन्। दसौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्षमा बेलायतका कुल आचार्य र रसियाका डा. बद्री केसीले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।

असोज ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्