हुम्लामा जसपाको सुज अभियान सुरु

सिमकोट – जनता समाजवादी पार्टीले चार महिने संगठन सदृढीकरण तथा जनजागरण कार्यक्रम जिल्लामा सुरु गरेको छ। संगठन विस्तार र कार्यकर्ता भेटघाट कार्यक्रम जिल्लाका सबै गाउँपालिकामा सञ्चालन गर्ने गरी अभियानको थालनी गरिएको जसपा अध्यक्ष धर्मराज बोहराले जानकारी दिए।

उनका अनुसार सुज अभियान सञ्चालनका लागि जिल्लामा अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम सुरु भएको छ। प्रशिक्षणमा अगुवा कार्यकर्ताहरुलाई सहभागी भएको र अब चाँडै गाउँ–गाउँमा परिचालन हुने उनले बताए।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य वीरजंग शाही, बलिराज शाहीलगायतका नेताहरुको सहभागिता थियो। कार्यक्रमस्थल जिल्ला समन्वय समितिको सभाहलमा छिर्नुअघि कार्यकर्ताहरुले सिमकोट बजारमा जुलुस प्रदर्शन गरेका थिए।

भदौ १ गतेबाट मंसिर महिनासम्म सञ्चालन हुने सो अभियान हुम्लामा भने असोज पहिलो हप्ताबाट सुरु भएको छ। अभियानको थालनी जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाबाट भएको हो। अभियान दसैँअगाडि सिमकोटको खार्पुनाथ गाउँपालिकामा सञ्चालन गरिने अध्यक्ष बोहराले जानकारी दिए।

उनका अनुसार दसैँपछि दक्षिणी क्षेत्रका चार वटा गाउँपालिका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा अभियान सञ्चालन हुनेछ।

असोज ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्