बनियागाउँ घटना

जिल्लाको आदेश उच्चले उल्टायो

नेपालगञ्ज– उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जले बनियागाउँ घटनामा जिल्ला अदालतले धरौटीमा छोडेका ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

बाँकेको जानकी गाउँपालिका– ५, बनियागाउँमा २०७७ कात्तिक १५ गते झडप हुँदा ५४ वर्षीय धनीराम अहिरको मृत्यु भएको थियो। गुरुवा गाउँमा लागेको मेलामा भएको सामान्य विवादलाई लिएर ठूलो संख्याका मानिसले कुटपिट गर्दा भैंसी चराएर फर्किरहेका धनीरामको मृत्यु भएको थियो।

उक्त घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान र सात जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो। जिल्ला अदालतले कर्तव्य ज्यानका पाँचजना र ज्यान मार्ने उद्योगका दुईजनालाई थुनामा पठाएको थियो भने अरुलाई धरौटीमा छोडेको थियो।

घटनाका मुख्य व्यक्ति नै छुटेको भन्दै धनीरामका छोरा सियाराम अहिर (सीताराम) उच्च अदालतमा पुगेका थिए। उच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र गोकर्ण डाँगीको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दाका पाँचजना र ज्यान मार्ने उद्योगका एकजनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो। कर्तव्य ज्यानका आशाराम यादव अहिर, दिनेशकुमार गुप्ता, तिरथराम अहिर, अर्जुनप्रसाद काँदु, सुरेशकुमार अहिर र ज्यान मार्ने उद्योगका रामनरेश यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ।

जिल्ला अदालतले आशारामलाई पाँच लाख, तिरथराम, अर्जुनलाई तीन÷तीन लाख, दिनेश, सुरेन्द्र र रामनरेशलाई दुई लाख ५० हजार धरौटीमा छोडेको थियो।

घटनापछि बनियागाउँमा अझै मिल्ती हुन सकेको छैन। गाउँ दुईतिर बाँडिएको छ। एक अर्कासँग डराइरहेका छन्।

असोज ८, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्